सरकारी ढुकुटीका रक्षक नै चोर, घरमा भेटियो ६ अर्ब रूपैयाँको सुन

डिसी नेपाल
१७ जेठ २०८३ १५:४०

काठमाडौं । अमेरिकी गुप्तचर संस्था (सीआईए) का एक पूर्व उच्च अधिकारी अमेरिकी सरकारको ४० मिलियन डलर (करिब ६ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन र लाखौँ नगद हिनामिना गरेको गम्भीर आरोपमा पक्राउ परेका छन्।

संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले सीआईएको ‘सिनियर एक्जिक्युटिभ सर्भिस’ मा कार्यरत डेभिड रसलाई पक्राउ गरी उनको घरबाट ठूलो परिमाणमा सुन, नगद र विलासी घडीहरू बरामद गरेपछि यो सनसनीपूर्ण घटना सार्वजनिक भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसलाई अमेरिकी गुप्तचर इतिहासकै सबैभन्दा ठूलो आन्तरिक वित्तीय धोखाधडी र चोरीको रूपमा हेरिएको छ।

गत मे १८ मा एफबीआईले डेभिड रसको निवासमा छापा मारेको थियो। सो क्रममा अनुसन्धान अधिकारीहरूले उनको घरबाट १-१ केजी तौल भएका ३०३ वटा सुनका बिस्कुट (गोल्ड बार) बरामद गरेका छन्, जसको बजार मूल्य ४ करोड डलरभन्दा बढी छ।

सुनका अतिरिक्त उनको घरबाट २० लाख अमेरिकी डलर नगद र रोलेक्ससहित ३५ वटा महँगा विलासी घडीहरू समेत जफत गरिएको एफबीआईको अभियोग पत्रमा उल्लेख छ।

अदालतमा पेस गरिएको एफबीआईको शपथपत्र अनुसार, रसले नोभेम्बर २०२५ देखि मार्च २०२६ को अवधिमा गुप्तचर कार्यका लागि भन्दै सरकारी कोषबाट ठूलो परिमाणमा वैदेशिक मुद्रा र सुनका बिस्कुटहरू माग गरेका थिए। ‘टप सिक्रेट’ सुरक्षा क्लियरेन्स पाएका कारण उनले माग गरेबमोजिमको सम्पत्ति सहजै प्राप्त गरेका थिए।

तर, हालै सीआईएले आफ्ना परियोजनाहरूको आन्तरिक लेखापरीक्षण गर्दा उक्त सुन र नगदको कुनै हिसाब फेला परेन। अनुसन्धानका क्रममा उनले सरकारी सम्पत्ति आफ्नै नियन्त्रणमा राखेको पुष्टि भएपछि मे १९ मा उनलाई हिरासतमा लिइएको थियो।

अनुसन्धानका क्रममा डेभिड रसको पृष्ठभूमि नै किर्ते र झूटो विवरणमा टिकेको डरलाग्दो तथ्य समेत बाहिर आएको छ। उनले सन् २००९ देखि २०२६ सम्म सरकारी सेवामा प्रवेश गर्न र पदोन्नति हुनका लागि बुझाएका कागजातहरू नक्कली पाइएका छन्।

उनले आफूलाई अमेरिकी नौसेनाको पूर्व पाइलट र लेफ्टिनेन्ट दाबी गरेका थिए भने प्रतिष्ठित विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरेको विवरण पेस गरेका थिए। तर, एफबीआईको छानबिनमा उनको सैन्य सेवा वा दाबी गरिएका विश्वविद्यालयहरूमा कुनै पनि आधिकारिक रेकर्ड फेला परेन। उनले विगत १७ वर्षदेखि झूटो विवरणकै भरमा अमेरिकी सरकारको उच्च तहमा पहुँच बनाएका थिए।

यस घटनासँगै सीआइसँग यति ठूलो परिमाणमा सुन किन उपलब्ध थियो भन्ने चासो समेत बढेको छ। सुरक्षा विज्ञहरूका अनुसार, अमेरिकी सरकारको अधिकांश सुन फोर्ट नक्स वा फेडरल रिजर्भमा सुरक्षित राखिने भए तापनि गुप्तचर एजेन्सीहरूले विशेष तथा गोप्य अपरेशनका लागि भौतिक सुनको प्रयोग गर्ने गर्दछन्।

डिजिटल बैंकिङ प्रणाली वा वायर स्थानान्तरणबाट गरिने भुक्तानीको ट्र्याक राख्न सहज हुने भएकाले, वित्तीय पहिचान लुकाउन एजेन्सीले सुनको प्रयोग गर्छ। युद्धग्रस्त, अस्थिर वा बैंकिङ संरचना नभएका क्षेत्रमा एजेन्टहरूलाई आर्थिक रूपमा सुरक्षित राख्न र ‘स्लस फन्ड’सञ्चालन गर्न अन्तर्राष्ट्रिय रूपमा सर्वस्वीकार्य हुने सुन नै सबैभन्दा सुरक्षित माध्यम मानिन्छ।

पक्राउ परेका रस हाल संघीय हिरासतमा छन् र उनीमाथि थप कानुनी कारबाही तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलताका पक्षमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *