प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले राष्ट्रिय आत्मसम्मानमा चोट पुग्यो : तरुण दल

डिसी नेपाल
१७ जेठ २०८३ १९:०८

काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनका अध्यक्ष मनिष कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको संसद्‌को प्रस्तुतिलाई कमजोर र अप्रत्याशित भन्दै तीव्र आलोचना गरिएको छ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आकस्मिक रूपमा सञ्चालन गरिएको थियो। तर, उक्त कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले आमनागरिकलाई आश्चर्यचकित बनाएको तरुण दलको भनाइ छ।

विशेषगरी प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति तरुण दलले कडा आपत्ति जनाएको छ। संगठनले प्रधानमन्त्रीको यस्तो टिप्पणीलाई अपरिपक्व र अवाञ्छित भन्दै यसले मुलुकको राष्ट्रिय आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको उल्लेख गरेको छ।

तरुण दलले राष्ट्रियताजस्तो संवेदनशील विषय तथा नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित मुद्दामा सरकार तथ्यपरक, परिपक्व र रचनात्मक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ।

साथै, नेपाल तरुण दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको सकारात्मक पहिचान निर्माणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी तथा आमनागरिकलाई एकताबद्ध हुन आह्वानसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *