प्रधानमन्त्री बालेन्द्र शाहको ‘राष्ट्रविरोधी’ अभिव्यक्तिको विरोधमा त्रिचन्द्रमा मसाल जुलुस

डिसी नेपाल
१८ जेठ २०८३ २१:३२

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद (सदन) मा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर विद्यार्थीहरू आन्दोलित भएका छन्। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा विरोध गर्दै सोमबार काठमाडौँको त्रिचन्द्र कलेजका विद्यार्थीहरूले मसाल जुलुस प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुत्लादहन गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद र जमिन मिचिएको विषयमा दिएको अभिव्यक्ति ‘राष्ट्रविरोधी’ र नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने खालको भएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

त्रिचन्द्र कलेज परिसरबाट निस्किएको मसाल जुलुसले प्रधानमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी गरेको थियो। प्रदर्शनकारी विद्यार्थीहरूले नेपालको राष्ट्रियता र अखण्डतामाथि आँच आउने खालका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति देशको कार्यकारी प्रमुखबाट आउनु निन्दनीय भएको बताए।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले प्रधानमन्त्री शाहले तुरुन्तै आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने र नेपाली जनतासँग माफी माग्नुपर्ने माग राखेका छन्। माग पूरा नभए र राष्ट्रियताको सवालमा सरकार नसच्चिए आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाउने चेतावनी समेत उनीहरूले दिएका छन्।

जुलुस कलेज वरपरको सडक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो। आन्दोलनका कारण केही समय घण्टाघर र दरबारमार्ग क्षेत्रको यातायात समेत प्रभावित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *