नारायणहिटी हत्याकाण्डको २५ वर्ष: इतिहासकै त्यो रहस्यमय दिन, जसलाई जनताले अझै पत्याएनन्

डिसी नेपाल
१९ जेठ २०८३ ७:३६

काठमाडौं। नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ।

पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका विभिन्न स्थानमा विशेष कार्यक्रम गरी २५औँ स्मृति दिवस मनाइँदै छ।

विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी राजदरबारभित्र आयोजना गरिएको नियमित पारिवारिक भोजका क्रममा अप्रत्याशित रूपमा यो अकल्पनीय घटना घटेको थियो।

त्यस कालरात्रिमा भएको अन्धाधुन्ध गोलीकाण्डमा परी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजाका कान्छा भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको विभत्स हत्या भएको थियो।

घटनाकै दिन राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि नेपालको इतिहासले एउटा नयाँ र जटिल मोड लिएको थियो।

घटनालगत्तै अचेत तथा अर्धमुर्छित अवस्थामा फेला परेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते नयाँ राजा घोषणा गरिएको थियो। उनी सैनिक अस्पतालमा उपचाररत र अचेत रहेका कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राज्यको नायबी (राजप्रतिनिधि) घोषणा गरियो।

अस्पतालमै उपचारका क्रममा जेठ २२ गते दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र शाहलाई नेपालको नयाँ राजा घोषणा गरिएको ऐतिहासिक तथ्य छ।

दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाउन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।

उक्त समितिले विस्तृत अध्ययनपछि युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूको हत्या गरी अन्तमा आफैँमाथि गोली प्रहार (आत्महत्या) गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। यद्यपि, प्रविधिक र वैज्ञानिक दाबीसहित सार्वजनिक गरिएको उक्त प्रतिवेदनलाई आम नेपाली जनताले भने आज २५ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सहजै स्वीकार गर्न सकेका छैनन्।

राजा वीरेन्द्रको शालीन र जनप्रिय छविका कारण आज पनि उनको परिवारको सामूहिक अवसान भएको यस दिनलाई नेपाली समाजले गहिरो शोक र आदरका साथ स्मरण गर्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *