प्रधान न्यायाधीश शर्माको प्रतिबद्धता: आकस्मिक जिम्मेवारी पाएको छु, काम गरेर देखाउँछु

डिसी नेपाल
१९ जेठ २०८३ १२:२१

काठमाडौं। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका प्रतिनिधिहरूसँगको विशेष भेटघाटका क्रममा उनले न्याय क्षेत्रको समग्र सुधार र सुशासनका लागि सरोकारवाला सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन्।

आकस्मिक रूपमा राज्यको सर्वोच्च न्यायिक जिम्मेवारीमा आएको उल्लेख गर्दै उनले सोही जिम्मेवारी बोधका साथ ठोस काम गरेर देखाउने दृढता व्यक्त गरे।

भेटका क्रममा प्रधान न्यायाधीश डा. शर्माले आम नागरिकले अदालत र न्यायपालिकाप्रति राखेको उच्च अपेक्षालाई सम्बोधन गर्न आफू तत्पर रहेको बताए। स्वच्छ, निष्पक्ष, छिटो-छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका साथै अदालतभित्र सुशासन कायम गर्ने विषयलाई आफूले प्राथमिकताका साथ कार्ययोजनामा नै समावेश गरिसकेको उनले प्रस्ट पारे।

न्यायपालिकाभित्र गर्नुपर्ने संरचनागत तथा व्यावहारिक सुधारका विविध आयामहरू समेटेर तयार पारिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई नै आफ्नो सुधारको मूल आधार बनाउने उनको भनाइ थियो।

सो अवसरमा मञ्चका अध्यक्ष कालिका खड्कासहित पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय र दुर्गा दुलाललगायतका सञ्चारकर्मीहरूले प्रधान न्यायाधीश शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै विभिन्न रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए।

उनीहरूले अदालतबाट सम्पादन हुने न्याय प्रणाली निष्पक्ष, सरल र सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै आम सर्वसाधारणले प्रत्यक्ष रूपमा न्यायको सुखद महसुस गर्न सक्ने वातावरण निर्माण गर्न नवनिर्वाचित प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *