इरानसँगको वार्ता भाँडिने खतरापछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायली प्रधानमन्त्री नेतन्याहुमाथि खनिए
वासिङ्टन / तेल अभिभ। अमेरिका र इरानबीच चलिरहेको कूटनीतिक संवादमा गम्भीर धक्का लाग्ने संकेत देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि निकै आक्रामक रूपमा प्रस्तुत भएका छन्।
इजरायलले लेबननमा सैन्य आक्रमण तीव्र पारेसँगै आक्रोशित बनेको इरानले सोमबार अमेरिकासँग जारी वार्ता प्रक्रिया नै भङ्ग गर्ने कडा चेतावनी दिएको थियो।
इरानको उक्त चेतावनीलगत्तै क्रुद्ध बन्नुभएका राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई सिधै टेलिफोन गरेर कडा शब्दमा गाली गर्नुका साथै चेतावनी समेत दिएका छन्।
अमेरिकी प्रतिष्ठित अनलाइन न्यूज पोर्टल ‘एक्सियोस’ का अनुसार राष्ट्रपति ट्रम्पले टेलिफोन संवादका क्रममा नेतन्याहुको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गर्दै आक्रोश पोखेका थिए। ट्रम्पले नेतन्याहुलाई “के तिमी पागल भयौ, आखिर तिमी के गरिरहेका छौ” भन्दै कडा प्रश्न गरेका थिए।
संवादकै क्रममा राष्ट्रपति ट्रम्पले आफू नभएको खण्डमा नेतन्याहु यतिबेला जेलमा हुनुपर्ने स्थिति आउने दाबी गर्दै आफूले लगातार बचाउ गरिरहेको भए पनि इजरायलको पछिल्लो कदमका कारण यतिबेला विश्व समुदाय नै नेतन्याहु र इजरायलको विपक्षमा उभिएको र सबैजना रिसाएको भन्दै सचेत गराएका थिए।
अमेरिकी उच्च अधिकारीहरूले दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्प खासगरी लेबननमा इजरायली हवाई हमलाका कारण ठूलो सङ्ख्यामा आम नागरिक मारिएको घटनाप्रति निकै चिन्तित र गम्भीर छन्।
हेज्बुल्लाहका केवल एकजना कमाण्डरलाई निसाना बनाउने बहानामा इजरायलले सर्वसाधारण बसोबास गर्ने सम्पूर्ण आवासीय भवन नै ध्वस्त पारेपछि अमेरिकी प्रशासन इजरायलसँग रुष्ट बनेको हो।
इजरायलको यस बलमिच्याइँले मध्यपूर्वको तनाव झन् बल्झिने र अमेरिकाले चालेका कूटनीतिक मध्यस्थताका प्रयासहरू असफल हुने खतरा बढेको भन्दै ह्वाइट हाउसले इजरायललाई संयमित हुन दबाब दिएको बुझिएको छ।







डिसी नेपाल







Facebook Comment