निर्वाचन, पक्राउ र अपरेसनपछि पहिलो पटक सार्वजनिक मञ्चमा केपी ओली

डिसी नेपाल
२० जेठ २०८३ ११:५०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्।

पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै उनी सार्वजनिक वृत्तमा फर्किएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएयता ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्टै पक्राउ परेका ओली रिहाइपछि पत्थरी (किड्नी स्टोन) को शल्यक्रिया गरेर आफ्नै निवासमा आराम गरिरहेका थिए।

यस अवधिमा उनी सार्वजनिक रूपमा नदेखिए पनि पार्टीका सचिवालय बैठकहरू र नेताहरूसँगको आन्तरिक संवादमा भने निरन्तर सक्रिय रहँदै आएका थिए।

आजको यस विशेष राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीसहित एमालेका शीर्ष पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदको रोष्ट्रमबाट नेपाल-भारत सीमाका विषयमा दिएको विवादित अभिव्यक्तिका कारण मुलुकको राजनीतिक बहस एकाएक गर्माएको छ। यस्तो संवेदनशील घडीमा हुन लागेको ओलीको यो सार्वजनिक उपस्थितिलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

सीमा विवादको यो पृष्ठभूमिमा एमालेको कार्यक्रमस्थलमा नेपालको ‘चुच्चे नक्सा’ समेत राखिएकाले राष्ट्रियता र सीमाका सवालमा ओलीले के कस्तो धारणा राख्नेछन् भन्ने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *