पार्टी सदस्यता कम्युनिस्ट संगठन निर्माणको आधारभूत र निर्णायक पक्ष: उपाध्यक्ष पौडेल
काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन्। एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार-उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उपाध्यक्ष पौडेलले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने स्पष्ट पारे।
विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित कार्यकर्ता भए मात्रै पार्टीले सफलता हासिल गर्ने उनको भनाइ थियो। सदस्यताको संख्यात्मक आकार ठूलो भए पनि गुणस्तरमा कमजोरी आएमा अपेक्षित नतिजा प्राप्त गर्न नसकिने तर्फ उनले सचेत गराए।
सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यतालाई अत्यन्त महत्त्वका साथ हेरिने ऐतिहासिक परम्परा रहेको स्मरण गरे। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय र प्रशंसनीय योगदान दिएका व्यक्तिहरूले समेत सहजै सदस्यता प्राप्त गर्न नसकेका उदाहरणहरू रहेको उल्लेख गर्दै उनले यसको गाम्भीर्यता बुझ्न आग्रह गरे।
पार्टी सदस्यताको प्रश्न केवल प्राविधिक विषय मात्र नभएर राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयसमेत भएको पौडेलले बताए। पार्टी सदस्यलाई विचार र राजनीतिसँग जोडेर मात्रै संगठन निर्माणको पाटोलाई हेर्नुपर्नेमा उनले जोड दिए।
पार्टी निर्माण, विचार–सिद्धान्त तथा पार्टीका मूल्य–मान्यताहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको चर्चा गर्दै उनले आगामी दिनमा सदस्यता विस्तार र नवीकरणको प्रक्रियामा यी वैचारिक पक्षहरूलाई विशेष ध्यान दिनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment