अपराध आफैं गर्ने, दोष एमालेलाई थुपार्ने? भदौको घटना आन्दोलन होइन षड्यन्त्र हो: ओली

डिसी नेपाल
२० जेठ २०८३ १३:३३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतको भदौ २३ र २४ गते घटेका घटनाहरू तत्कालीन एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित राजनीतिक षड्यन्त्र भएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय संगठन विभागद्वारा राजधानीमा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर आरोप लगाएका हुन्।

उक्त घटनालाई कतिपय पक्षले आन्दोलन त कतिपयले क्रान्तिको संज्ञा दिने गरे पनि त्यो केवल आपराधिक क्रियाकलापको योजना मात्रै भएको ओलीको भनाइ थियो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले नवयुवाहरूको हत्या गर्ने खालका आपराधिक गतिविधिलाई समेत क्रान्तिको नाम दिने गरिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले आफूहरूले अपराधको योजना बुन्ने र काँक्रो खाएर बियाँ अर्काको गालामा टाँसेजस्तो गरी एमालेमाथि दोषारोपण गर्ने काम गरिएको टिप्पणी गरे। आफ्नो यो दाबीलाई बल पुर्‍याउन उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपलाई समेत प्रमाणका रूपमा प्रस्तुत गरे।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले समेत भदौ २३ र २४ को घटना पहिले नै बुनिएको संयन्त्र र पूर्ण रूपमा प्रायोजित भएको उल्लेख गरेको दाबी गर्दै ओलीले यो आफ्नो मात्र व्यक्तिगत भनाइ नभएर संवैधानिक निकायको अध्ययनले देखाएको यथार्थ भएको जिकिर गरे।

अध्यक्ष ओलीले त्यो समयमा एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा निकै बलियो अवस्थामा रहेको स्मरण गराए।

जनताबाट निर्वाचित र अत्यधिक बहुमत प्राप्त उक्त सरकारलाई संवैधानिक, कानुनी तथा संसदीय प्रक्रिया र बाटोबाट अनेकौँ पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरिए पनि ती सबै प्रयास असफल भएको उनले बताए।

वैधानिक र संसदीय बाटोबाट सरकार विस्थापित गर्न सम्भव नभएपछि अन्ततः गैरसंवैधानिक, अवैधानिक र आपराधिक मार्गको सहारा लिएर तत्कालीन सरकारलाई विस्थापित गर्ने षड्यन्त्र रचिएको उनको विश्लेषण थियो।

पार्टीका शीर्ष नेता र सङ्गठन विभागका अगुवा कार्यकर्ताहरू सहभागी यस कार्यशालामा अध्यक्ष ओलीले एमालेविरुद्ध चौतर्फी प्रहार भइरहेको अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताहरू वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा निर्वाचन र त्यसपछिका राजनीतिक उतारचढाव तथा स्वास्थ्य उपचारपछि पहिलो पटक यसरी पार्टीको बृहत् भौतिक कार्यक्रममा उपस्थित भएका ओलीले समसामयिक राजनीति, सीमा विवाद र पार्टीको आगामी रणनीतिबारे समेत कार्यकर्ताहरूलाई स्पष्ट मार्गनिर्देशन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *