चक्रपथमा महानगर यातायातको सेवा विस्तार: थपिए १६ वटा अत्याधुनिक विद्युतीय बस
काठमाडौं। काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई थप आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गरेको छ।
कम्पनीले १६ वटा नयाँ अत्याधुनिक विद्युतीय बसहरू खरिद गरी बुधबारदेखि चक्रपथ सडकखण्डमा विधिवत रूपमा सञ्चालनमा ल्याएको हो।
चिनियाँ प्रविधिमा आधारित यी नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका रहेका छन्। सिटबाहेक उभिएर यात्रा गर्ने यात्रुहरूका लागि समेत सहज हुने गरी डिजाइन गरिएका यी बसहरूले एक पटकमा करिब ७० जना यात्रुलाई सहजै सेवा दिन सक्ने क्षमता राख्दछन्।
यात्रुको आराम र सुरक्षाका लागि आधुनिक प्रणाली तथा व्यवस्थित संरचना जडान गरिएका यी बसहरूलाई निकै सुविधासम्पन्न मानिएको छ।
शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेका यी सवारी साधनहरूमा १४४ किलोवाट क्षमताको ‘सीएटीएल’ ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्दछ। कम्पनीका अनुसार प्रतिबस खरिद मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।
सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रा.लि.का सचिव केशव नेपालले वर्तमान अवस्थामा विद्युतीय सवारी साधनको विकल्प अनिवार्य बन्दै गएको उल्लेख गरे।
प्रारम्भिक लगानी उच्च भए तापनि विद्युतीय बसहरू व्यावसायिक रूपमा निकै उपयुक्त र आम्दानीका हिसाबले प्रभावकारी देखिएको उनको भनाइ थियो।
उनले अन्य यातायात व्यवसायीहरूलाई पनि डिजेल गाडी छोडेर विद्युतीय सवारीतर्फ आकर्षित हुन सुझाव दिए। साथै, हाल सरकारले ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाएको करका कारण विद्युतीय सवारी सञ्चालनमा केही कठिनाइ भइरहेको भन्दै महसुलमा छुटको व्यवस्था गर्न उनले सरकारसँग मागसमेत गरे।
त्यसैगरी, कम्पनीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि सञ्चालन गरिएका १२ वटा विद्युतीय बसहरूको सफलतापछि यो नयाँ चरणको विस्तार गरिएको जानकारी दिए।
प्राविधिक रूपमा सरल र सञ्चालन खर्च निकै कम हुने भएकाले डिजेल बसको तुलनामा विद्युतीय बसबाट झण्डै चार गुणा बढी आम्दानी भइरहेको अनुभव उनले सुनाए।
आधिकारिक विक्रेता शशिला मोटर्सको बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) प्रभावकारी र विश्वसनीय भएकाले आफूहरूले सहकार्यलाई निरन्तरता दिएको उनले स्पष्ट पारे।
समारोहमा बसको चाबी हस्तान्तरण गर्दै शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको बताए।
यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई समग्र देशकै सार्वजनिक यातायात प्रणाली सुधारका लागि कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे। कम्पनीले व्यावसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र आफ्ना ग्राहकका लागि सेवा प्रणालीलाई उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।
हाल महानगर यातायात प्रा.लि.ले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी कुल १४० भन्दा बढी सवारी साधनमार्फत यात्रुहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। नयाँ बसहरू थपिएसँगै कम्पनीको बेडामो २८ वटा ठूला सिटी बस र २४ वटा माइक्रोबससहित विद्युतीय सवारी साधनको संख्या कुल ५२ पुगेको छ।







डिसी नेपाल







Facebook Comment