टिचिङको ओपीडी सेवा प्रविधिमैत्री बन्दै, काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र उच्च प्रविधियुक्त बनाउन ठूलो प्राविधिक सहयोग गरेको छ। महानगरले अस्पताललाई १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका आधुनिक प्रविधि, साधन तथा डिजिटल उपकरणहरू हस्तान्तरण गरेको हो।
अस्पतालमा आयोजित एक विशेष कार्यक्रमका बिच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यलाई उक्त उपकरणहरू हस्तान्तरण गरेकी हुन्।
महानगरपालिकाले अस्पतालको सेवा प्रवाहलाई डिजिटल र छिटो-छरितो बनाउन मुख्य गरी १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन उपलब्ध गराएको छ। यी मेसिनहरूको प्रयोगबाट बिरामीले आफैँ शुल्क भुक्तानी गर्न, उपचार रिपोर्ट प्रिन्ट गर्न र घरबाटै उपचारका लागि रकम जम्मा गर्न सक्नेछन्।
यसका साथै, बिरामीको रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न मिल्ने गरी ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर समेत प्रदान गरिएको छ। अस्पतालको डिजिटल सेवालाई चुस्त र सुरक्षित बनाउन सर्भर तथा र्यामको क्षमतामा समेत वृद्धि गरिएको छ।
उक्त उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा सेवा लिन बिरामी र तिनका आफन्तले भोग्नुपर्ने सास्ती हटाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताइन्।
‘बिरामी र बिरामीका आफन्त पहिले नै पीडामा हुन्छन्। उपचारका क्रममा टिकट काट्न र शुल्क तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न प्रविधिमार्फत सहज सेवा दिन सकिन्छ,’ उनले भनिन्, ‘हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन थप सहज हुनेछ।’
स्थानीय सरकारका रूपमा महानगरपालिका नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले भविष्यमा अस्पतालसँग सहकार्य गरी टेलि-सेवा (टेलिमेडिसिन) सञ्चालन गर्न सकिने सम्भावना समेत औँल्याइन्।
अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यले महानगरपालिकाबाट प्राप्त सहयोगले अस्पतालको सेवा व्यवस्थापनमा उल्लेखनीय परिवर्तन ल्याउन मद्दत पुगेको बताए।







डिसी नेपाल







Facebook Comment