विश्वप्रसिद्ध राइड सेयरिङ एप ‘उबर’ नेपालमा भित्रियो: काठमाडौंमा बाइक र कार सेवा औपचारिक रूपमै सुरु

डिसी नेपाल
२२ जेठ २०८३ १४:२९

काठमाडौं। विश्वव्यापी रूपमा ख्याति कमाएको राइड-सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ। कम्पनीले शुक्रबार एक विशेष घोषणा गर्दै दक्षिण एशियाली बजारमा एक दशकपछि नयाँ देशका रूपमा नेपालमा आफ्नो व्यापार विस्तार गरेको जनाएको हो।

यससँगै नेपाल उबरको एशिया–प्रशान्त क्षेत्र अन्तर्गत ११औँ बजार बन्न सफल भएको छ। कम्पनीले हालका लागि काठमाडौं उपत्यकालाई लक्षित गर्दै चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

नेपालमा सेवा विस्तार भएको अवसरमा उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई तीव्र गतिमा बढिरहेको डिजिटल पहुँच, शहरी यातायातको टड्कारो आवश्यकता र सशक्त पर्यटन क्षेत्र भएको एक अत्यन्त सम्भावनायुक्त बजारका रूपमा चित्रण गरेका छन्।

दक्षिण एशियामा कम्पनीको विस्तार यात्राका लागि नेपालमा उबरको प्रवेश एउटा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा नेपाल आफ्नो विश्वव्यापी मोबिलिटी सञ्जालको महत्वपूर्ण हिस्सा बनेकोमा उत्साह व्यक्त गर्दै यहाँका यात्रु, चालक तथा पर्यटकहरूको आवश्यकतालाई सम्बोधन गर्दै यातायात क्षेत्रको आधुनिक विकासमा ठुलो योगदान दिने प्रतिबद्धता जनाइएको छ।

उबरको यस आगमनलाई सरकारी अधिकारीहरूले पनि सकारात्मक रूपमा लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबर जस्तो अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल आउँदा विदेशी पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज र भरपर्दो यातायात सेवा उपलब्ध हुने र यसले समग्र पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देलले उबरको प्रवेशले नेपालको बलियो आर्थिक सम्भावना र डिजिटल पूर्वाधारप्रतिको अन्तर्राष्ट्रिय विश्वासलाई उजागर गरेको बताए। यस्ता स्मार्ट मोबिलिटी समाधानले शहरी यातायात व्यवस्थापन, नयाँ रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष मद्दत पुग्ने उनको ठहर छ।

नेपालमा स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्या, तीव्र शहरीकरण र सहज यातायातको मागलाई मध्यनजर गर्दै यो सेवा ल्याइएको हो। सन् २०१० मा स्थापना भई हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालित उबरले हालसम्म ७५ अर्बभन्दा बढी यात्रा सेवा प्रदान गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *