सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ
काठमाडौं। पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन्।
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन्।
आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उनले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गरिन्।
उनले संविधानले न्यायाधीशलाई कार्यकारी भूमिकामा जान निषेध गरेपनि देशमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता देखिएकाले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको बताइन्।
उनले उक्त जिम्मेवारी चुनौतीपूर्ण भएपनि न्यायिक पृष्ठभूमिका सहकर्मीहरूको सहयोगका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गरिन्। त्यसबेला धेरै राजनीतिक दल र बुद्धिजीवीहरूले छ महिनाभित्र निर्वाचन सम्भव नठानेको भएपनि कठोर परिश्रमका कारण लक्ष्य पूरा भएको उनको भनाइ थियो।
साहित्यप्रतिको आफ्नो लगावबारे बोल्दै कार्कीले सन् १९८० देखि कविता, कथा तथा अनुवाद लेखनमा सक्रिय रहेको जानकारी दिइन्। वकालत र न्यायिक जिम्मेवारीका कारण केही समय साहित्यबाट टाढिए पनि साहित्यप्रतिको रुचि कहिल्यै नहराएको उनले बताइन्।
उनले जेल जीवनका अनुभवलाई आधार बनाएर ‘कारा’ नामक उपन्यास लेखेको प्रसंग पनि सुनाइन्। २०४६ सालको जनआन्दोलनका क्रममा दुई महिना जेल बसेको अनुभवले उक्त कृति लेख्न प्रेरित गरेको उनको भनाइ थियो।
जेलमा रहेका विभिन्न महिलाहरूको जीवन र भोगाइलाई नजिकबाट अध्ययन गरेपछि उपन्यासको विषयवस्तु तयार भएको उनले बताइन्।
कार्कीले आफ्नो नातीको जन्म र श्रीमानको गम्भीर स्वास्थ्य अवस्थाबीच प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको भावुक क्षण पनि स्मरण गरिन्। सार्वजनिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको पीडा आफूले अनुभव गरेको उनले सुनाइन्।
कार्कीले आफूलाई केवल प्रधानमन्त्री, न्यायाधीश वा कानुन व्यवसायीका रूपमा मात्र नहेर्न आग्रह गर्दै आफू साहित्यप्रेमी पनि भएको बताइन्।
जीवनभर संचित गरेका कथा, अनुभव र अधुरा कृतिहरू प्रकाशित गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै साहित्यिक समुदायले आफूलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरिरहनुपर्ने अपेक्षा व्यक्त गरिन्।







डिसी नेपाल







Facebook Comment