वैभव सूर्यवंशी: क्रिकेट खेल्ने मात्र होइन, आगामी २० वर्षसम्म राज गर्नु छ
नयाँ दिल्ली। भारतीय टी-२० टोलीमा समावेश भएपछि राजस्थान रोयल्सका १५ वर्षीय युवा सनसनी वैभव सूर्यवंशीले आफ्नो उच्च मनोकांक्षा र लक्ष्य सार्वजनिक गरेका छन्।
आईपीएल फ्रेन्चाइजीद्वारा साझा गरिएको एक विशेष अन्तर्वार्तामा वैभवले आफ्नो लक्ष्य केवल अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु मात्र नभई आगामी १०–२० वर्षसम्म विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गर्नु रहेको स्पष्ट पारेका छन्।
अन्तर्वार्ताका क्रममा जब वैभवलाई दिग्गज क्रिकेटर सुनील गावस्करसँग रेड बल (टेस्ट) क्रिकेटका बारेमा भएको कुराकानीबारे सोधियो, उनले निकै परिपक्व जवाफ दिए।
वैभवले भने, “धेरै मानिसहरूलाई म केवल टी-२० स्पेसलिस्ट हुँ जस्तो लाग्छ, तर मैले रेड बलले धेरै अभ्यास गरेको छु र आफ्नो राज्यका लागि पनि खेलेको छु। म तीनवटै फर्म्याटमा भारतको प्रतिनिधित्व गर्न चाहन्छु।”
उनले थपे, “टी-२० मा मेरो आक्रामक ब्याटिङ यस फर्म्याटको माग हो। जब म टेस्ट वा ओडीआई खेल्नेछु, तब टोली र परिस्थितिको आवश्यकता अनुसार आफ्नो ब्याटिङमा परिवर्तन गर्नेछु।”
आफ्नो भविष्यको योजना र क्रिकेटिङ दर्शन (फिलोसफी) का बारेमा कुरा गर्दै वैभवले आफू विपक्षी टोलीको मनमा डर पैदा गर्ने खेलाडीको रूपमा चिनिन चाहेको बताए।
“म देश वा कुनै पनि टोलीका लागि जबसम्म खेल्छु, यसरी खेलूँ कि मानिसहरूले भनुन् – यो खेलाडी जब पनि मैदानमा उत्रिन्थ्यो, एक्लै म्याच सिध्याएर फर्किन्थ्यो। मलाई त्यो डोमिनेन्स (वर्चस्व) देखाउनु छ। केवल खेल्नु मात्र ठूलो कुरा होइन, मलाई आगामी २० वर्षसम्म क्रिकेटमा राज गर्नु छ र यसकै लागि म दिनरात मिहिनेत गरिरहेको छु।”
वैभवले रोयल च्यालेन्जर्स बेंगलोरका दिग्गज ब्याटर विराट कोहलीसँगको आफ्नो पहिलो भेटको एउटा निकै भावुक संस्मरण पनि साझा गरे। वैभवले भने, “जब विराट दाइले मेरो काँधमा हात राखेर मसँग कुरा गर्न थाल्नुभयो, मलाई लाग्यो म कुनै सपना देखिरहेको छु।”
उनले अगाडि थपे, “कुरा गर्दा उहाँ त्यति ठूलो स्टार विराट कोहली हुनुहुन्छ जस्तो कत्ति पनि लागेन। उहाँले एउटा दाइले जस्तै मलाई सम्झाउनुभयो कि मैले अहिले के राम्रो गरिरहेको छु, आगामी दिनमा कुन कुरामा सुधार गर्नुपर्छ र कसरी आफ्नो खेलमा ध्यान केन्द्रित गरिरहनुपर्छ।”
शनिबार घोषित भारतीय टी-२० टोलीमा वैभव सूर्यवंशीलाई पहिलो पटक स्थान दिइएको छ। आईपीएलको १९औँ सिजनमा आफ्नो ब्याटले तहल्का मच्चाएका यी १५ वर्षीय खेलाडीलाई आयरल्याण्ड, इंग्ल्याण्ड भ्रमण र एशियन गेम्स २०२६ का लागि भारतीय टोलीको स्क्वाडमा समावेश गरिएको छ। क्रिकेट वृत्तमा उनलाई भारतीय क्रिकेटको आगामी ‘अद्भूत प्रतिभा’ मानिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment