रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक, संसदमा रहेका सबै दललाई निम्तो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
उनले आज सोमबार बिहान ९:०० बजेका लागि सो बैठक बोलाएका हुन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्ने तय भएको यस बैठकका बारेमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जना नेताहरूलाई आमन्त्रण गरिएको छ।
सर्वदलीय बैठकको सूचना र आमन्त्रणसहितको अनुरोध पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले स्पष्ट पारेका छन्।
पछिल्लो समय राजनीतिक समीकरणमा देखिएका उतारचढाव र जनसरोकारका मुद्दाहरूका बीच रास्वपाले चालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
दलहरूबीच साझा धारणा निर्माण गर्न र संसद्लाई थप प्रभावकारी बनाउन यो सर्वदलीय छलफलले ठोस मार्गचित्र तय गर्ने अपेक्षा राखिएको छ।







डिसी नेपाल







Facebook Comment