नेपाल र हङकङबीच १५ औं पटक भिडन्त: के आज पनि इतिहास दोहोरिएला?

डिसी नेपाल
२५ जेठ २०८३ ६:४४

काठमाडौं। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज सोमबार हङकङको सामना गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले सहजै हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो।

पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४४ रनको अविजित इनिङ्स खेले। त्यस्तै ओपनर कुशल भुर्तेलले २० रन जोड्दा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मदले ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। ओमानलाई सस्तैमा रोक्न नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट चट्काए। यस्तै कुशल मल्ल, शाहब आलम र दीपेन्द्रसिंह ऐरीको नाममा १–१ विकेट रह्यो।

आइतबारै भएको दोस्रो सेमिफाइनल खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै हङकङले नेपालसँगको फाइनल भेट पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाउँदै पूरा गरेको थियो। नेपालले यसअघि समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले हराएको थियो।

सिंगापुरमा हुने नेपाल र हङकङबीचको यो उपाधि भिडन्त नेपाली समय अनुसार मध्याह्न १२:१५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा दुवै टोली अहिलेसम्म अपराजित रहेकाले खेल जित्दै अपराजित च्याम्पियन बन्ने दाउमा दुवै पक्ष छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलहरूको इतिहास हेर्दा नेपाल र हङकङबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल केही बलियो देखिएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेलमा जित निकालेको छ। यी दुई टोलीबीचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

यसैबीच, एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच पनि प्रतिस्पर्धा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *