मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित
जनकपुर। मधेश आन्दोलनमा सहीद भएकाहरुको परिवारका सदस्यहरु फेरि आन्दोलित भएका छन्। उनीहरुले भोली जनकपुरधामस्ति मुख्यमन्त्री कार्यालय घेराउ गर्ने भएका छन्।
सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सहीद परिवारका सदस्यहरुले आफूहरुलाई अहिलेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादव र गृहमन्त्री फकिरा महतोले वेवास्ता गरेको आरोप लगाएका छन्। प्रदेश सरकारले सहीद परिवारका लागि उपलब्ध गर्ने भनिएका सेवा सुविधाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन्।
गत वर्ष पनि प्रदेश सरकारको लापरबाहीका कारण मधेशी सहीद प्रतिष्ठानका लागि छुट्याइएको बजेट फ्रिज हुन पुगेको प्रतिष्ठानका सदस्य एवम सहीद चन्दन पटेलका पिता अवदेश पटेलले जानकारी दिए। उनले यस वर्ष पनि प्रतिष्ठानको बजेट फ्रिज हुने निश्चित भएको बताए।
पटेलका अनुसार बजेट फ्रिज हुनुको मुख्य कारण मुख्यमन्त्री र गूहमन्त्री रहेको छ। संघीयता स्थापना भएको समय मधेश प्रदेश सरकारले एक सहीद एक रोजगार घोषणा गरेको थियो। सो अनुरुप हरेक सहीद परिवारको एक सदस्यले पाउनु पर्ने रोजगारी सबैलाई दिनुपर्ने सहीद परिवारका सदस्यहरुको माग रहेको पटेलले जानकारी दिए।
उनले सहीद परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्यको ग्यारेन्टि गर्नु पर्ने माग रहेको बताए। सहीद परिवारका निम्ति प्रदेश सरकारले २ वर्ष देखि ल्याउने भनेको ऐन हालसम्म प्रदेश सभामा पनि प्रस्तुत नगरेकोमा सो ऐन छिटो भन्दा छिटो प्रदेश सभामा प्रस्तुत गर्नु पर्ने आफूहरुको माग रहेको पटेलको भनाई छ।
सहीद परिवारका सदस्यहरुले भोली (मंगलबार) मुख्यमन्त्री कार्यालय घेराउ गर्ने, बुधबार भुख हडतालमा बस्नेलगायतका निरन्तर आन्दोलनका विभिन्न रणनीतिहरु अपनाउँदै जाने मधेशी सहिद प्रतिष्ठानका सदस्य पटेलले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment