फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

डिसी नेपाल
२५ जेठ २०८३ २१:५८

कास्की। प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ। फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चलाउने चालक तथा डुङ्गामा सयर गर्ने यात्रुको बिमा गरेको हो।

सङ्गठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बिमा गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत रु एक लाख प्रदान गरिने छ भने मानविय क्षति भएमा परिवारले रु पाँच लाख प्राप्त गर्नेछन्।

सङ्गठनमा दर्ता भई सञ्चालनमा रहेका डुङ्गामा यो नियम लागू हुने अध्यक्ष गिरीले जानकारी दिए। “बिमाका लागि पहिलादेखिनै प्रयास गरेका थियौँ तर सफल हुन सकिएको थिएन। सुरक्षाका दृष्टिकोणले बिमा अत्यावश्यक देखिएकाले पहिलोपटक यो व्यवस्था सुरु गरेका छौँ। यसबाट डुङ्गा चालक तथा सवार यात्रुले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ भने यसको सन्देशले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ”, उनले भने।

फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन्। बिमा गरेसँगै डुङ्गा चालकले सुरक्षाको महसुस भएको प्रतिक्रिया दिएका छन्। फेवातालका विभिन्न आठ वटा डुङ्गा स्टेसनबाट ८४७ डुङ्गा सञ्चालन भइरहेका छन्। यहाँ झण्डै ३५० जना डुङ्गा चालक छन्।

पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले पोखरा घुम्न आउने सबै जना पर्यटक फेवाताल पुग्ने गर्दछन्। फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका कारण पनि डुङ्गा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैँजस्तो घुइँचो हुने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *