थाइल्याण्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोट होडबाट बाहिरियो
काठमाडौँ। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा भएको खेलमा ५६ रनको हार बेहोरेसँगै नेपालको एसिसी ‘टि ट्वान्टी’ एसिया कपमा छनोट हुने सपना अधुरै बनेको छ। खेलमा थाइल्याण्डले प्रस्तुत गरेको १३१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रनमा समेटिन पुग्यो।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक अविजित २० रनको योगदान दिइन्। त्यसैगरी सोनी पाख्रिनले १५ रन तथा सम्झना खड्का र सीता रानामगरले समान १२-१२ रन जोडे पनि टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाली ब्याटिङ लाइन चल्न नसक्दा नेपालले खेलमा कडा प्रतिस्पर्धा समेत दिन सकेन।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३० रनको बलियो योगफल तयार पारेको थियो।
थाइल्याण्डको इनिङ्समा नानापाट खोन्चारोयन्काइले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रनको अर्धशतकीय योगदान दिइन्। त्यस्तै फानिता मायाले २६ रन, चानिदा सुथिरूवाङले १६ रन तथा कप्तान नारूमोइ चाइवाइले ८ रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १-१ विकेट लिएका थिए। नेपाली महिला क्रिकेट टोलीका लागि यो महिना निकै निराशाजनक रहन गयो।
यसअघि मलेसियामा नै खेलिएको खेलमा चीनसँग पराजित भई नेपाल यसै वर्ष जापानमा आयोजना हुने एसियन गेम्सको छनोट होडबाट पनि बाहिरिइसकेको छ।







डिसी नेपाल







Facebook Comment