श्रम संस्कृति पार्टीद्वारा संसद् बैठकमा अवरोध कायमै

डिसी नेपाल
२७ जेठ २०८३ १५:५०

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई निरन्तरता दिएको छ। सदनमा जारी गतिरोध अन्त्य गर्न अन्य विपक्षी दलहरू सहमतिमा पुगे पनि श्रम संस्कृति पार्टीले भने आफ्नो अडान कायमै राखेको हो।

सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्नका लागि समय दिएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। संसद्मा जारी विरोधकै बीच परराष्ट्रमन्त्री खनालले आफ्नो हालैको भारत भ्रमणका सम्बन्धमा सदनलाई जानकारी गराइरहेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिको जवाफ परराष्ट्रमन्त्रीले दिने गरी भएको सहमतिप्रति आपत्ति जनाएका छन्। अध्यक्ष साम्पाङले एउटाले गल्ती गर्ने र अर्कोले जवाफ दिने भन्ने नहुने धारणा राखेका छन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेनले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनी दिएको अभिव्यक्तिलाई लिएर संसद्मा लामो समयदेखि विवाद जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *