कांग्रेसको डिजिटल अभियान: क्रियाशील सदस्यता अनलाइन अद्यावधिक गर्ने समय आज राति सकिँदै

डिसी नेपाल
२८ जेठ २०८३ ७:०२

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने तोकिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार जेठ २८ गते राति १२ बजेसम्म मात्रै अनलाइन प्रणाली खुला रहनेछ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले अन्तिम समयमा प्राविधिक चाप बढ्न सक्ने भएकाले समयमै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अपिल गरेका छन्।

उनले कांग्रेसको आधिकारिक वेबसाइटमार्फत प्रत्येक सदस्यले मोबाइलबाटै सहजै फाराम भर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै प्राविधिक कठिनाई भएमा वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिन आग्रह गरेका छन्।

कांग्रेसको विवरण अनुसार अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले आफ्नो डिजिटल पहिचान (एसीआईडी) प्राप्त गरिसकेका छन्।

यसका अतिरिक्त थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम बुझाएर प्रक्रिया अघि बढाइसकेकाले अहिलेसम्म कुल संख्या ६ लाख नजिक पुगेको छ। कांग्रेसले संगठनलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ पहिलोपटक यो अनलाइन अभियान सञ्चालन गरेको हो।

कतिपय तहबाट यो अभियानमा अवरोध गर्ने प्रयास भए पनि गाउँगाउँमा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको केन्द्रीय कार्यालयले जनाएको छ। विगतको तुलनामा यसपटक अद्यावधिक हुने सदस्यहरूको संख्या केही कम देखिए पनि यसले पार्टीको वास्तविक र यथार्थ विवरण बाहिर आउने नेताहरूको बुझाइ छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विगतमा नेताहरू आफैँले कार्यकर्ताको फाराम भरिदिँदा देखिने ‘फर्जी संख्या’ भन्दा अहिले कार्यकर्ता स्वयं सचेत भएर अनलाइन प्रणालीमा सहभागी हुँदा संख्या दुरुस्त हुनु स्वाभाविक भएको बताए।

पार्टी नेतृत्वका अनुसार यो तोकिएको समयभित्र अनलाइन प्रणालीमा दर्ता नहुने सदस्यहरू आगामी १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छैनन्। केन्द्रीय सदस्य शिवाकोटीले समयसीमा समाप्त भएपछि केन्द्रीय कार्यालयमा गरिने कुनै पनि दबाब वा नाराबाजीको सुनुवाइ नहुने स्पष्ट पार्दै इमानदार कार्यकर्ताका लागि आज राति १२ बजेभित्रै सदस्यता अद्यावधिक गर्नु बुद्धिमानी हुने उल्लेख गरे।

यस डिजिटल अभियानले सदस्यहरूको नामबाहेक अन्य आवश्यक विवरणको अभिलेखीकरणलाई समेत व्यवस्थित बनाएकाले आगामी महाधिवेशन थप निष्पक्ष र पारदर्शी हुने कांग्रेसले अपेक्षा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *