बुटवल सुन काण्ड: चोर खोज्दै जाँदा भेटिए सवा करोड हडप्न खोज्ने साहुजी

डिसी नेपाल
२८ जेठ २०८३ ११:०४

बुटवल । चोर समात्न खटिएको प्रहरी जब अनुसन्धानको अन्तिम बिन्दुमा पुग्यो, तब अचम्मको तथ्य फेला पर्‍यो— करोडौँको धनमाल चोरी भएको भन्दै रुवाबासी गर्ने पसलका मालिक नै मध्यरातमा आफ्नै पसल लुटेर फरार भएका मुख्य ‘चोर’ निस्किए।

रुपन्देहीको प्रमुख व्यापारिक केन्द्र बुटवल अमरपथस्थित ४० वर्ष पुरानो ‘तिनाउ सुनचाँदी पसल’ मा भएको भनिएको १ करोड ४६ लाख ९४ हजार ७०० रुपैयाँ बराबरको डकैती प्रकरण अन्ततः बीमा रकम असुल्न र ग्राहकको धितो पचाउन सञ्चालक आफैँले रचेको एउटा प्रपञ्च साबित भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बहुमूल्य सुनचाँदीसहित पसलका मालिक र उनका मुख्य सहयोगी कामदारलाई नियन्त्रणमा लिएर यस ‘चोरी ड्रामा’ को पर्दाफास गरेको हो।

प्रहरीका अनुसार जेठ १६ गते पसल सञ्चालक ४१ वर्षीय दीपक विक (सेन्चुरी) आफू व्यवसायको कामले पोखरा जान लागेको भन्दै बुटवलबाट निस्किएका थिए। जेठ १७ गते राति पसलको सटर आंशिक रूपमा खुला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे।

घटनास्थल पुग्दा प्रहरीले पसलभित्र ५०–६० वटा नक्कली चाबी (मास्टर की) को झुप्पा फेला पार्यो भने दुईवटा मुख्य लकरमध्ये एउटा लकर जबर्जस्ती खोलिएको र भित्रका सबै गहना गायब पारिएको अवस्थामा भेटियो।

पोखरामा रहेका भनिएका दीपकले आफ्नो पसलमा ७० तोला भन्दा बढी सुनका गहना र ठुलो परिमाणमा चाँदी चोरी भएको भन्दै रुँदै प्रहरीमा उजुरी दर्ता गराए। उनले पसलको सीसीटीभी प्रणाली पनि केही समय अघिदेखि नै बिग्रेको दाबी गरेका थिए।

घटनास्थलको प्राविधिक जाँच गर्दा बाहिरी ढोका वा सटरमा कुनै पनि बल प्रयोग गरेर तोडफोड गरिएको चिह्न नदेखिएपछि डीएसपी निशान्त श्रीवास्तव नेतृत्वको टोलीलाई सुरुदेखि नै भित्री मान्छेको संलग्नतामा शङ्का लागेको थियो।

प्रहरीले बुटवल उपमहानगरपालिकाका विभिन्न १५० भन्दा बढी स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेजहरू सङ्कलन गरेर सूक्ष्म अध्ययन सुरु गर्‍यो। फुटेज खँगाल्दै जाँदा प्रहरी अधिकारीहरू नै छाँगाबाट खसे जस्तै भए। पोखरामा हुनुपर्ने दीपक जेठ १६ गते साँझ नै बुटवल फर्किएर तिलोत्तमा–२ का आफ्ना विश्वासिला कर्मचारी ४७ वर्षीय नवीन विकसँग बुटवलकै एक होटलमा लुकेर बसेको देखियो।

रातको साढे ११ बजे होटलबाट निस्किएका उनीहरू मध्यरातको ठिक १ बजे ‘मास्टर की’ को प्रयोग गरी आफ्नै पसलभित्र छिरेका थिए। पसलभित्र साढे दुई घण्टाभन्दा बढी समय बिताएर लकरका सबै गहना झोलामा कोचेपछि, उनीहरूले बाहिरबाट चोर आएर लुटपाट गरे जस्तो देखाउन जानीजानी नक्कली चाबीहरू भुइँमा छरेर दृश्य तयार पारे। त्यसपछि सिद्धबाबामा पार्किङ गरेर राखिएको गाडी चढी दीपक पोखरा प्रस्थान गरेको सीसीटीभीमा स्पष्ट कैद भयो।

प्रहरीका अनुसार यो सम्पूर्ण प्रपञ्च पछाडि सञ्चालकको ठुलो आर्थिक स्वार्थ लुकेको थियो । पसलको मोटो रकमको बीमा गरिएको हुनाले, चोरीको कानुनी प्रतिवेदन बनाएर बीमा कम्पनीबाट करिब डेढ करोड रुपैयाँ दाबी गर्ने उनको दाउ थियो।

यसबाहेक बजारमा सुनको मूल्य लगातार आकाशिएपछि, ग्राहक र अन्य व्यवसायीले पसलमा धितो राखेका सुनका गरगहना दीपकले यसअघि नै सुटुक्क बेचिसकेका थिए। ग्राहकले धितो फिर्ता माग्दा पुर्‍याउन नसक्ने स्थिति आएपछि उनले ‘पसल नै लुटियो’ भन्ने बहाना बनाएर दायित्वबाट उम्किने प्रयास गरेका हुन्।

प्रहरीले अभियुक्त दीपक विकको बुटवल–५ स्थित घरमा छापा मारी लुकाएर राखिएको अवस्थामा बाला, लकेटसहितको सिक्री, कानपासा, झुम्का, औँठी र मालासहित ५ तोला ४१ लाल सुनका गहना र १४ किलो ३०० ग्राम चाँदीका सिक्का, ढिक्का तथा दाना बरामद गरेको छ।

प्रहरीले दीपक विक र उनका सहयोगी नवीन विक दुवैलाई हिरासतमा लिई ‘अपराधिक विश्वासघात’ सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरेर अदालतबाट कानुनी कारबाही अगाडि बढाएको छ। पसलबाट गायब पारिएका बाँकी गरगहना कहाँ लुकाइएको छ भन्नेबारे प्रहरीले टोली परिचालन गरी खोजी कार्य तीव्र पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *