पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २२ सैनिकको मृत्यु

डिसी नेपाल
२९ जेठ २०८३ १५:५१

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मिरको मुजफ्फरवाद नजिकै सेनाको हेलिकप्टर दुर्घटना हुँदा २२ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । पाकिस्तानी सेनाको मिडिया विङ ‘इन्टर-सर्भिस पब्लिक रिलेसन’ र सुरक्षा स्रोतहरूका अनुसार बुधबार उडान भर्ने क्रममा प्राविधिक गढबढीका कारण ‘एमआई-१७’ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा दुई जना कर्नल, एक जना मेजर र १९ जना सैनिक जवान रहेका छन् । हेलिकप्टर जमिनबाट उड्ने बित्तिकै आकस्मिक रूपमा खसेर आगो लागेको र त्यसमा सवार कोही पनि जीवित नरहेको सैन्य अधिकारीहरूले पुष्टि गरेका छन् । मुजफ्फरवादमा शवहरूलाई पाकिस्तानी राष्ट्रिय झन्डामा बेरेर सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

यो दुर्घटना कश्मिर क्षेत्रमा तनाव बढिरहेको र नागरिक प्रदर्शनका कारण कडा सुरक्षा प्रतिबन्ध लगाइएको समयमा भएको हो । हालै सरकारले प्रतिबन्ध लगाएको एउटा नागरिक समाज गठबन्धन र सुरक्षा बलबिच भएको हिंसक झडपमा परि ११ जनाको मृत्यु भएपछि उक्त क्षेत्रमा सेना र अर्धसैनिक बल (रेन्जर्स) तैनाथ गरिएको थियो । यद्यपि, सेनाले यो दुर्घटना पूर्ण रूपमा प्राविधिक कारणले भएको र जारी प्रदर्शनसँग यसको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । सेनाले हेलिकप्टर दुर्घटनाको मुख्य प्राविधिक कारण पत्ता लगाउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *