आइएमईको २६औँ वार्षिकोत्सव : डिजिटल नवप्रवर्तनमार्फत वित्तीय सेवा थप सुरक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता

डिसी नेपाल
२९ जेठ २०८३ २२:१२

काठमाडौं। आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गर्दै वित्तीय समावेशिता, डिजिटल नवप्रवर्तन र सुरक्षित वित्तीय सेवामार्फत देशको आर्थिक रूपान्तरणलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले प्रविधिको तीव्र विकाससँगै वित्तीय सेवाको स्वरूप बदलिँदै गएको उल्लेख गर्दै एआई, मेसिन लर्निङ तथा डिजिटल प्रविधिको उपयोगमार्फत ग्राहकलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवबाट जन्मिएको एउटा सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंगका रूपमा स्थापित भएको स्मरण गरे। उनले आइएमईले देशका दुर्गम गाउँदेखि सहरसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिता र सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको बताए।

उनले बदलिँदो प्रविधिसँगै वित्तीय क्षेत्रले पनि आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘जसरी टेक्नोलोजीहरू परिवर्तन भइरहेका छन्, व्यवसायको स्वरूप पनि तीव्र गतिमा बदलिरहेको छ। त्यसैगरी आगामी दिनमा प्रविधिसँगै सुरक्षाको विषय पनि उत्तिकै महत्वपूर्ण छ। प्रणालीलाई कसरी अझ सुरक्षित बनाउने भन्नेमा हामी केन्द्रित हुनुपर्छ।’

उनले एआई र मेसिन लर्निङले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाइरहेको उल्लेख गर्दै ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा विकास गर्न नयाँ प्रविधिसँगै अघि बढ्नुपर्ने बताए।

‘अहिले एआई र मेसिनहरूले कामलाई सहज बनाइरहेका छन्। त्यससँगै हामीले पनि त्यो प्रविधिसँग चल्न सिक्नुपर्ने बाध्यता छ। किनभने त्यो ट्रेन्डलाई पछ्याउन सकिएन भने ग्राहकको भावना र माग बुझ्न सकिँदैन,’ उनले भने।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले २६ वर्षअघि निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न अनुमति दिने निर्णय नेपाली वित्तीय क्षेत्रका लागि ऐतिहासिक मोड भएको बताए। उनले नेपाल राष्ट्र बैंक र नेपाल सरकारले निजी क्षेत्रलाई रेमिटेन्स कारोबारको जिम्मेवारी दिनु त्यस समयको सन्दर्भमा साहसिक र अग्रगामी कदम रहेको उल्लेख गरे।

उनले भने, ‘आजभन्दा २६ वर्षअघि नेपाल राष्ट्र बैंक र नेपाल सरकारले निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न स्वीकृति दिएको निर्णय आफैँमा एउटा क्रान्तिकारी कदम थियो। त्यो समयको सन्दर्भमा यो निकै अग्रगामी निर्णय थियो।’

उनका अनुसार त्यतिबेला अनौपचारिक माध्यमबाट हुने ठूलो रकमको कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने चुनौती थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कमाएको रकम सुरक्षित र भरपर्दो ढंगले आफ्ना परिवारसम्म पु¥याउने उद्देश्यले सुरु गरिएको सेवा आज देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको उनले बताए।

‘त्यो समयमा निजी क्षेत्रप्रति सबैको विश्वास थिएन। वैदेशिक रोजगारीमा गएका दाजुभाइ तथा दिदीबहिनीहरूको मेहनतको कमाइ सुरक्षित रूपमा घरपरिवारसम्म पु¥याउने संयन्त्र स्थापना गर्नु सहज काम थिएन। त्यसका लागि धेरै मेहनत, इमान्दारिता, टिमवर्क र सबैको साझेदारी आवश्यक परेको थियो,’ उनले भने।

कार्यक्रममा आइएमईको २६ वर्षे यात्राको समीक्षा गर्दै कम्पनीले रेमिटेन्स, डिजिटल भुक्तानी, बैंकिङ पहुँच विस्तार तथा वित्तीय साक्षरताको क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरिएको थियो। वक्ताहरूले आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग, ग्राहकमैत्री सेवा र सुरक्षित डिजिटल वित्तीय प्रणालीमार्फत देशको आर्थिक विकास र वित्तीय समावेशितालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *