अच्युतम लामिछानेलाई २ मतले हराउँदै उत्सव अर्याल रास्वपा बागमतीको प्रदेश सभापतिमा निर्वाचित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनको अत्यन्तै रोचक र कडा प्रतिस्पर्धात्मक मतपरिणाम अनुसार अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई मात्र दुई मतको झिनो अन्तरले पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी सम्हाल्न सफल भएका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार विजयी बनेका अर्यालले ४१६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी लामिछानेले ४१४ मतमा चित्त बुझाउनु पर्यो।
रास्वपा बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसुधन ढकालका अनुसार मतगणनाको सुरुवाती चरणदेखि नै दुवै उम्मेदवारबिच निकै कडा प्रतिस्पर्धा देखिएको थियो, जसको अन्तिम नतिजा पनि उत्प्रेरक र रोमान्चक रहन पुग्यो।
यसअघि प्रदेश नेतृत्वका लागि सभापति पदमा चार जना आकांक्षी देखिएका थिए। तर, मतदान प्रक्रिया सुरु हुनु अगावै दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अर्याललाई समर्थन गरेपछि मैदानमा अर्याल र लामिछानेबिच मात्रै सिधा प्रतिस्पर्धा भएको थियो।
रास्वपा बागमतीको नयाँ कमान्डर बनेका मकवानपुरका उत्सव अर्याल यसअघि प्रदेश कमिटीको प्रवक्ताका रूपमा सक्रिय भूमिकामा थिए। उता मात्र दुई मतले पराजित हुन पुगेका डा. अच्युतम लामिछाने रास्वपाका तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद हुनुका साथै बागमती प्रदेशका निवर्तमान सभापति समेत हुन्।
प्रथम ऐतिहासिक अधिवेशनबाट चुनिएको अर्यालको नेतृत्वले अब बागमती प्रदेशमा रास्वपाको संगठन विस्तार र राजनीतिक गतिविधिको नेतृत्व गर्नेछ।







डिसी नेपाल







Facebook Comment