रास्वपाद्वारा कैलाली जिल्लाको सम्पूर्ण निर्वाचन प्रक्रिया र नतिजा खारेज

डिसी नेपाल
३१ जेठ २०८३ १४:२२

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशन अन्तर्गत भएका सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसको परिणामलाई पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरिएको पत्र अनुसार कैलाली अधिवेशनका क्रममा अवलम्बन गरिएको निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्वाचन कार्यविधि विपरीत पाइएकाले यो कदम चालिएको हो।

आयोगले छानबिनका क्रममा निर्वाचनमा न्यूनतम आधारभूत विधि र प्रक्रिया समेत पालना नभएको तथा मतदान र मतगणनामा स्थापित नियमहरूको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ।

यसअघि तीव्र विवाद र असन्तुष्टिका बीच सम्पन्न भएको भनिएको निर्वाचनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित घोषित भएका थिए। उक्त प्रतिस्पर्धामा सभापतिका अन्य उम्मेदवारहरू महेश कुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।

तर निर्वाचन हुनु अगावै अध्यक्षका उम्मेदवारद्वय रेग्मी र चौधरीले निर्वाचन समिति नै अवैधानिक रहेको तथा मतदाता नामावलीमा व्यापक धाँधली गरिएको आरोप लगाउँदै प्रक्रिया पूर्ण रूपमा बहिष्कार गरेका थिए। उनीहरूले निर्वाचन रोक्न माग गर्दै केन्द्रीय निकायमा उजुरी समेत दर्ता गराएका थिए।

अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको र योग्य सदस्य तथा प्रतिनिधिहरूको सहभागिता समेत सुनिश्चित नभएको पाइएपछि केन्द्रीय निर्वाचन आयोगले यसलाई गम्भीरतापूर्वक लिएको हो।

प्राप्त उजुरी र संलग्न प्रमाणहरूको विस्तृत अध्ययनपछि आयोगले यस्ता गैरप्रक्रियागत कार्यले निर्वाचनको निष्पक्षता र वैधतालाई समाप्त पारेको ठहर गरेको छ।

अब कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि केन्द्रीय प्रतिनिधि टोली खटाइने र छिट्टै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *