म भन्ने घमण्ड त्यागौं, मिल्नुको विकल्प छैन : डा. मीनेन्द्र रिजाल
विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले पार्टीभित्रको ‘म’ केन्द्रित प्रवृत्तिका कारण संगठन इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्। विराटनगरमा कांग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान संकट चिर्न आन्तरिक एकता अनिवार्य रहेको जिकिर गरे।
आफ्नो ८० वर्षे इतिहासमा कांग्रेस अहिलेजस्तो अन्योलपूर्ण र कमजोर अवस्थामा कहिल्यै नदेखिएको उल्लेख गर्दै रिजालले विगत ४–५ वर्षयताको राजनीतिक अभ्यासप्रति असन्तुष्टि पोखे। उनले भने, ‘पछिल्ला वर्षहरूमा ‘मलाई नेतृत्वमा पुर्याउनुस्, सबै ठीक हुन्छ’ भन्ने सोच हाबी भयो। तर, व्यक्ति केन्द्रित यस्तो चिन्तनले कांग्रेस कहिल्यै बलियो हुन सक्दैन भन्ने कुरा पटक–पटक प्रमाणित भइसकेको छ।’
पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रिजालले बिपी कोइरालाको कालखण्ड स्मरण गराए। ‘बिपीको समयमा पनि गणेशमान सिंह, सुवर्ण शमशेर र भूदेव राईजस्ता नेताहरूसँग प्रतिस्पर्धा हुन्थ्यो। नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर चुनावपछि कांग्रेस सधैं एक ढिक्का भएर निस्किन्थ्यो,’ उनले थपे। उनले कसैले कसैका अगाडि घुँडा टेक्नु नपर्ने तर पार्टी हितका लागि ‘म मात्रै हुँ’ भन्ने अहंकार त्याग्नैपर्ने धारणा राखे।
डा. रिजालले पार्टीको संस्थापन र इतर पक्षबीच संवाद भइरहेको जानकारी दिँदै एकताका लागि डा. शेखर कोइरालाले अगाडि बढाएको पहलको स्वागत गरे। उनले भने, ‘हामीले सबैलाई समेट्ने बाटो खोज्नुपर्छ। सबै कार्यकर्ताले सम्मानित महसुस गर्ने गरी संगठनलाई पूर्णता दिने जिम्मेवारी अब हाम्रो काँधमा छ।’
कांग्रेसले आम जनतामा विश्वास र आशा जगाउन नसके भविष्य झन् संकटमा पर्ने चेतावनी दिँदै रिजालले भने, ‘जनतामा रहेको निराशालाई चिर्न र कांग्रेसलाई पुनः भरोसायोग्य शक्ति बनाउन एकताबद्ध हुनुको कुनै विकल्प छैन।’







डिसी नेपाल







Facebook Comment