ट्रम्पको ८० औँ जन्मदिन र अमेरिका-इरान शान्ति सम्झौता: कूटनीतिक उपहार कि इतिहासकै पुनरावृत्ति ?

डिसी नेपाल
३१ जेठ २०८३ १६:१८

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजदेखि जीवनको ८० औँ वर्षमा प्रवेश गरेका छन्। विश्वकै सबैभन्दा शक्तिशाली पदमा आसीन ट्रम्पका लागि यो जन्मदिन केवल एउटा व्यक्तिगत उत्सव मात्र नभएर उनको सम्पूर्ण राजनीतिक साख र कूटनीतिक साखको अग्निपरीक्षा बनेको छ।

ट्रम्पले आफ्नो यस विशेष दिनलाई ‘इतिहासकै सबैभन्दा ठुलो शान्ति सम्झौता’ को उत्सवका रूपमा मनाउने घोषणा गर्दै आजै (आइतबार) अमेरिका र इरानबीच जारी युद्ध समाप्त पार्ने प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर हुने दाबी गरेका थिए।

तर, जन्मदिनको घडी आइसक्दा पनि तेहरानले देखाएको कडा अडान र समयतालिकाप्रतिको असहमतिले ह्वाइट हाउसको उत्साहलाई केही मत्थर पारिदिएको छ, जसका कारण यो सम्झौता ट्रम्पका लागि ऐतिहासिक कूटनीतिक उपहार बन्छ वा उनी केवल आशामै बस्नुपर्ने हो भन्ने गम्भीर प्रश्न अन्तर्राष्ट्रिय जगत्मा उठेको छ।

विगत केही महिनादेखि राष्ट्रपति ट्रम्पले इरानसँगको शान्ति वार्ता अन्तिम चरणमा पुगेको र सम्झौता जुनसुकै बेला हुन सक्ने दाबी निरन्तर गर्दै आएका थिए। गत मार्चदेखि सुरु भएको यो “डिल हुनै लाग्यो” भन्ने प्रचारबाजी अप्रिलको अस्थायी युद्धविरामसम्म पुगेर थन्किएको थियो।

वार्तामा ठोस प्रगति हुन नसकेपछि अघिल्लो हप्ता मात्रै अमेरिकी प्रशासनले आफ्नो आक्रामक रूप देखाउँदै इरानलाई सैन्य धम्कीसमेत दिएको थियो। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले त अमेरिका “बममार्फत वार्ता” गर्न समेत तयार रहेको भन्दै इरानका प्रमुख तेल र ग्यास पूर्वाधारहरूमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

यसरी एकातिर युद्धको भीषण धम्की र अर्कोतिर जन्मदिनमै हस्ताक्षर गराउने ट्रम्पको हतारोका बीच कूटनीतिको यो नयाँ मस्यौदा तयार पारिएको हो, जसलाई ट्रम्पले आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय बनाएका छन्।

राजनीतिक विश्लेषकहरूले ट्रम्पको यो हतारो र वर्तमान अवस्थालाई सन् १९७९ को कुख्यात ‘इरान बन्धक सङ्कट’ सँग तुलना गर्न थालेका छन्। त्यतिबेलाका अमेरिकी राष्ट्रपति जिमी कार्टरले आफ्नो कार्यकालको अन्त्यसम्म इरानमा बन्धक बनाइएका अमेरिकी नागरिकहरूलाई रिहा गराउन महिनौँसम्म प्रयास गरे पनि इरानी नेतृत्वले कार्टर ह्वाइट हाउसबाट औपचारिक रूपमा बिदा भएकै दिन मात्र उनीहरूलाई मुक्त गरिदिएको थियो, जसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठुलो कूटनीतिक पराजय मानिन्छ।

अहिले ट्रम्प पनि युद्ध सुरु भएको १०० दिन कटिसक्दा देश भित्र चुलिएको महँगी, रक्षा खर्चको बोझ र आफ्नो घट्दो लोकप्रियताका कारण दबाबमा छन्। यदि यो सम्झौता इरानले अन्तिम समयमा टारिदियो भने ट्रम्पका विपक्षीहरूले उनलाई ‘झूटा वाचा गर्ने असफल नेता’ का रूपमा चित्रित गर्नेछन्, जसले गर्दा इतिहास दोहोरिने डरले वासिङ्टन त्रसित देखिएको छ।

कागजमा सम्झौताको खाका तयार देखिए पनि जमिनमा यसको कार्यान्वयन अत्यन्तै जटिल र चुनौतीपूर्ण छ। ट्रम्पले सम्झौता हुनासाथ अन्तर्राष्ट्रिय व्यापारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्ग खुला हुने दाबी गरे पनि इरानले उक्त मार्गबाट गुज्रिने जहाजहरूमाथि भारी कर वा सेवा शुल्क लगाउने नयाँ अडान राखेको छ, जसलाई अमेरिकाले अन्तर्राष्ट्रिय कानुन विपरीत मानेको छ।

त्यसभन्दा पनि जटिल विषय त परमाणु साइटहरूको व्यवस्थापन हो। हालैका हमलाहरूपछि इरानले आफ्ना प्रमुख परमाणु केन्द्रहरूलाई पूर्ण रूपमा सिल गरेर वरिपरि ‘माइनिङ’ (विस्फोटक सुरुङ) बिछ्याएको छ। यस्तो युद्धग्रस्त र असुरक्षित वातावरणमा ती भूमिगत संरचनाहरूबाट उच्च संवर्धित युरेनियम सुरक्षित रूपमा बाहिर निकाल्नु प्राविधिक रूपमा फलामको च्युरा चपाउनु सरह हुनेछ।

यस्तो अवस्थामा, यदि इरानले प्राविधिक बहाना बनाएर युरेनियम दिन अस्वीकार गरेमा इजरायलको शङ्का कायमै रहनेछ र मध्यपूर्वमा फेरि पनि युद्धको कालो बादल मडारिइरहने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *