इक्वेडरको १९ खेलको अपराजित यात्रा तोड्दै आइभोरी कोस्टको ऐतिहासिक जित
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को एक अत्यन्तै सनसनीपूर्ण खेलमा अफ्रिकी राष्ट्र आइभोरी कोस्टले दक्षिण अमेरिकी पावरहाउस इक्वेडरमाथि १-० को रोमाञ्चक जित दर्ता गरेको छ।
म्यानचेस्टर युनाइटेडका युवा विङ्गर अमद डियालोले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर खेलको अन्तिम मिनेटमा गरेको एकल गोल नै आइभोरी कोस्टका लागि निर्णायक साबित भयो।
अमेरिकामा जारी यस विश्वकपको समूह ‘इ’ मा परेका यी दुई टोलीबीचको भिडन्त निकै रक्षात्मक र रणनीतिक बनेको थियो, जहाँ दुवै टोलीले निर्धारित ८९ मिनेटसम्म एकअर्काको बलियो रक्षापङ्क्ति तोड्न सकेका थिएनन्।
खेल बराबरीमा टुङ्गिने निश्चित देखिइरहेका बेला ९० औँ मिनेटमा अमदले गरेको बक्स भित्रको सानदार प्रहारले जाली चुमेपछि रङ्गशालामा उपस्थित आइभोरी कोस्टका समर्थकहरू खुसीले झुमेका थिए।
यो ऐतिहासिक जितसँगै आइभोरी कोस्टले जारी विश्वकप प्रतियोगितामा तीन महत्त्वपूर्ण अंक जोड्दै सानदार सुरुआत गरेको छ भने अर्कोतर्फ बलियो मानिएको इक्वेडरका लागि यो नतिजा ठुलो झट्का बनेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा विगत १९ खेलदेखि लगातार अपराजित रहँदै आएको इक्वेडरको सानदार यात्रामा समेत पूर्णविराम लागेको छ।
सन् २०१४ को ब्राजिल विश्वकपटपपछि अर्थात् लामो १२ वर्षको पर्खाइ र संकर्ष पार गरेर पहिलो पटक विश्वकपको मञ्चमा फर्किएको आइभोरी कोस्टका लागि यो जित आफैँमा एउटा ठुलो ऊर्जा र ऐतिहासिक उपलब्धि बनेको छ।
खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा इक्वेडरले बराबरी गोल फर्काउन आफ्ना सबै खेलाडीहरूलाई आक्रमणमा उतार्दै कडा प्रयास गरे पनि आइभोरी कोस्टको रक्षापङ्क्तिले बललाई उत्कृष्ट ढङ्गले क्लियर गरेलगत्तै रेफ्रीले खेल सकिएको अन्तिम सिट्टी बजाएका थिए।
यस खेलमा गोल गरेसँगै आइभोरी कोस्टका २३ वर्षीय स्टार अमद डियालोको नाममा एउटा दुर्लभ कीर्तिमान समेत जोडिएको छ। विश्वकप फुटबलको समृद्ध इतिहासमा सन् २००६ को जर्मनी विश्वकपयता वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेर खेलको यति ढिलो समय अर्थात् ९० औँ मिनेट वा त्यसपछि विजयी गोल गर्ने अमद पहिलो खेलाडी बनेका छन्।
यसअघि सन् २००६ मा इटालीका फ्रान्सेस्को तोतीले अस्ट्रेलियाविरुद्ध अतिरिक्त समयको पेनाल्टीमा गोल गरेयता विश्वकपको मुख्य समयको अन्तिम मिनेटमा बेन्चबाट आएर कसैले पनि यसरी निर्णय बदल्न सकेका थिएनन्।
यही समूह ‘इ’ मा रहेको चार पटकको विश्वकप विजेता जर्मनीले पनि कुराकाओलाई ७–१ को भारी गोलअन्तरले पराजित गरिसकेकाले अब आइभोरी कोस्ट र जर्मनीबीचको आगामी भिडन्त अझ बढी रोचक र समूह विजेता बन्ने होडका लागि निकै निर्णायक हुने अनुमान फुटबल विश्लेषकहरूले गरेका छन्।







डिसी नेपाल







Facebook Comment