हामी भागेका होइनौं, साउन २८ भित्रै नेपाल फर्केर अनुसन्धानलाई सघाउँछौं : देउवा दम्पती
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा दम्पतीले दुई महिनाभित्र स्वदेश फर्किएर विभागको अनुसन्धानमा सदासयतापूर्वक सहयोग गर्न आफूहरू तत्पर रहेको स्पष्ट पारेका हुन्।
विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाइएको चार पृष्ठ लामो इमेलमा हाल आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको उल्लेख गरिएको छ। उनीहरूले देश छाडेर भागेको वा अनुसन्धानमा उपस्थित नभएको जस्तो भाष्य सिर्जना गरेर पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेशमा कठिनाइ हुने वातावरण नबनाइदिन समेत विभागलाई अनुरोध गरेका छन्।
इमेलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देउवा दम्पतीले आफूहरू सार्वजनिक उत्तरदायित्वको पदमा बसेर देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो गरिमामय जिम्मेवारी वहन गरिसकेको राजनीतिक व्यक्ति भएकाले अनुसन्धानलाई रोकछेक गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
प्राविधिक आधारमा प्रतिरोध गर्नुभन्दा कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट आफ्नो निर्दोषिता प्रमाणित गर्न आफूहरू तयार रहेको उनीहरूको जिकिर छ।
यद्यपि, हाल उनीहरू कुन देशमा छन् भन्ने कुरा इमेलमा खुलाइएको छैन। गत २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा दम्पती त्यसपछि हङकङमा समेत देखिएका थिए, तर त्यसयताको उनीहरूको बसाईबारे आधिकारिक जानकारी बाहिर आएको छैन।
पत्राचारमा देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश भइसकेको कुरा समेत विभागलाई स्मरण गराएका छन्।
अदालतमा भएको छलफलका क्रममा कसुर पुष्टि गर्ने ठोस प्रमाण नभए पनि नेपालबाहिर रहेको बहानामा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको कानुनी व्यवसायीबाट जानकारी पाएपछि यो निवेदन पठाउनुपरेको देउवाले उल्लेख गरेका छन्।
गत असोज महिनामा परेको उजुरीमा अनुसन्धान टोली गठन भएर आफ्नो क्षतिग्रस्त भवनमा अनुसन्धान हुँदा र आफू फागुन १३ गते नेपालबाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको उनले स्पष्ट पारेका छन्।
आफ्नो जलेको घरमा बसेका नातेदार रामबहादुर देउवाको रोहबरमा रितपूर्वक खानतलासी गर्दा कुनै पनि बहुमूल्य वस्तु वा नगद फेला नपरेको मुचुल्काले नै प्रमाणित गरेको दाबी गर्दै देउवा दम्पतीले अख्तियारलगायतका कुनै पनि संवैधानिक निकायले समेत आफूहरूमाथि छानबिन नगरेको अवस्थामा विभागको छानबिनमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।







डिसी नेपाल







Facebook Comment