सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

डिसी नेपाल
३ असार २०८३ ११:५८

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुखको पूर्व राजनीतिक आबद्धतालाई जोड्दै उनको आचरणमाथि प्रश्न उठाएका छन्। बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो भन्दै प्रश्न गरे।

बैठकमा बोल्दै उनले भने, “मलाई सभामुखसँग प्रश्न छ। यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो। के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो, रास्वपा, त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो? यहाँले सम्पूर्ण सदनको अभिभावकको रुपमा यसको सम्मान बढाउने हो।”

रास्वपाद्वारा नियमावलीको हवाला दिँदै विरोध

सांसद यादवको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालै गम्भीर आपत्ति जनाएको छ। रास्वपाका सांसद गणेश कार्कीले नियमावलीविपरीत सभामुखको आलोचना गरिएको भन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे।

प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराउँदै सांसद कार्कीले भने, “नियमावलीको दफा २१ को (ख) मा सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने व्यवस्था छ। यो हामी सबैले मानेको हो। जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै म यो बोलिएको कुरा रेकर्डबाट हटाउन माग गर्दछु।”

सभामुखको तटस्थता र संसद्को गरिमाको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच केही बेर भनाभन समेत भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *