विश्वकप फुटबलः रोमाञ्चक खेलमा क्रोएसियामाथि इंग्ल्याण्डको सानदार जित
काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको डालास रंगशालामा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ। ६ गोल भएको यस निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए।
खेलको १२औँ मिनेटमै इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, ३६औँ मिनेटमा क्रोएसियाका मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि ४२औँ मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका पिटर मुसाले जवाफी गोल फर्काएपछि पहिलो हाफ २–२ को रोमान्चक बराबरीमा सकियो।
दोस्रो हाफको सुरुवातमै इंग्ल्याण्डले खेलमा पुनः नियन्त्रण बनायो। ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गर्दै टोलीलाई तेस्रो पटक अग्रता दिलाए। खेलको अन्तिमतिर ८५औँ मिनेटमा मार्कस र्यासफोडले गोल गरेपछि इंग्ल्याण्डको जित सुनिश्चित भएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्याण्डले खेल ४-२ ले आफ्नो पक्षमा पार्याे।
विश्वकपअन्तर्गत अहिले घाना र पानामाबीचको खेल जारी रहेको छ भने आजै बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment