विष्णु पौडेल पक्राउपछि महेश बस्नेतले भने- कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई लिएर पार्टी सचिव महेश बस्नेतले कडा आपत्ति जनाएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई पक्राउ गरेको घटनाप्रति बस्नेतले राजनीतिक प्रतिशोधको गन्ध आएको भन्दै टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भई गरिएको गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जिकिर गरेका छन्।
बस्नेतले उक्त घटनालाई केवल एक व्यक्तिको विषयका रूपमा मात्र नहेर्न आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई आग्रह गरेका छन्। उनले यसलाई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका छन्।
‘आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता प्रवृत्तिको हामीले डटेर प्रतिवाद गर्नुपर्छ।’
पौडेलको पक्राउलाई सांकेतिक रूपमा प्रस्तुत गर्दै बस्नेतले भनेका छन्, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो भन्ने चेतका साथ यस घटनालाई गम्भीर रूपमा लिनुपर्छ।’ कुनै पनि कानुनी कारबाही निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्ने उनको अडान छ।
एमालेका प्रभावशाली नेता पौडेल पक्राउ परेको विषयले अहिले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ। बस्नेतको यो टिप्पणीले पार्टीभित्रको असन्तुष्टि र सरकारको कदमप्रति एमालेको कडा प्रतिवादलाई स्पष्ट पारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment