विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्रको पराकाष्ठा : केपी ओली

डिसी नेपाल
८ असार २०८३ २१:५३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई सरकारको ‘राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र’ को संज्ञा दिएका छन्। उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै सरकारको यस कदमको कडा शब्दमा निन्दा गरेका छन्।

अध्यक्ष ओलीले वर्तमान सरकार विपक्षी दलहरूविरुद्ध अराजनीतिक र अलोकतान्त्रिक व्यवहारमा उत्रिएको आरोप लगाएका छन्। ‘यो दमनकारी कदम म र हाम्रो पार्टीमाथि लक्षित शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको अर्को कडी हो,’ उनले भनेका छन्।

ओलीले कानुनी प्रक्रियाको सामान्य मापदण्डलाई समेत सरकारले लत्याएको आरोप लगाएका छन्। सोधपुछका लागि अन्य विकल्पहरू हुँदाहुँदै पनि सरकारले सस्तो लोकप्रियता (स्टन्ट) का लागि मात्रै पौडेललाई पक्राउ गरेको उनको जिकिर छ।

‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सम्मान गर्ने व्यक्तिलाई बोलाएर सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने स्पष्ट विकल्प थियो। तर, त्यसलाई नियतवश बेवास्ता गरी बदनियतपूर्वक गिरफ्तारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सरकारका यस्ता हर्कत तत्काल बन्द गर्न चेतावनी दिँदै परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

‘हामी सरकारलाई सचेत गराउन चाहन्छौं- विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण कार्यहरू तत्काल रोकिनुपर्छ। अन्यथा, यसको परिणाम सुखद हुने छैन,’ ओलीले चेतावनीको भाषामा भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *