फिफा विश्वकप २०२६

अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरियो, अर्जेन्टिना नकआउटमा

डिसी नेपाल
९ असार २०८३ ११:१३

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को एक रोमाञ्चक खेलमा अल्जेरियासँग पराजित भएसँगै नवप्रवेशी टोली जोर्डन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

अमेरिकाको सन फ्रान्सिस्कोस्थित बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २- गोल अन्तरले स्तब्ध हुन पुग्यो। पहिलोपटक विश्वकपको मञ्चमा उत्रिएको जोर्डनका लागि यो हारसँगै अघिल्लो चरण प्रवेशको सपना समाप्त भएको छ।

यसअघि खराब प्रदर्शनका कारण अन्य ३ वटा देशहरूको विश्वकप यात्रा समूह चरणबाटै समाप्त हुने निश्चित भइसकेको छ। सुरुवाती दुवै खेलमा पराजय भोगेका समूह ‘सी’ को हाइटी, समूह ‘डी’ को टर्की र समूह ‘एफ’ को ट्युनिसिया गणितीय रूपमा नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। यी टोलीहरूका लागि समूह चरणको अन्तिम खेल केवल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।

खेलको सुरुआतमा जोर्डनले निकै आक्रामक र अनुशासित खेल प्रदर्शन गरेको थियो। खेलको ३६औं मिनेटमा निजार अल रशदानले उत्कृष्ट गोल गर्दै जोर्डनलाई १-० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता बनाएर बलियो स्थितिमा देखिएको जोर्डनले दोस्रो हाफमा भने त्यो लयलाई कायम राख्न सकेन।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको अल्जेरियाले खेलको ६९औं मिनेटमा बराबरी गोल फर्कायो। स्टार खेलाडी रियाद महरेजको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै नाधीर बेनबोउलीले गोल गरेर खेललाई १-१ को बराबरी स्थितिमा ल्याए।

बराबरी गोलले उत्साहित भएको अल्जेरियाले जोर्डनमाथि लगातार दबाब सिर्जना गर्‍यो। खेल सकिन ८ मिनेट बाँकी छँदा अर्थात् ८२औं मिनेटमा अमाइन गौइरीले गोल गर्दै अल्जेरियालाई २-१ को महत्त्वपूर्ण अग्रता दिलाए।

बाँकी समयमा जोर्डनले बराबरी गर्ने केही प्रयास गरे पनि अल्जेरियाको बलियो रक्षापंक्तिलाई तोड्न सकेन र खेल अल्जेरियाले आफ्नो पोल्टामा पार्यो।

यो जितसँगै अल्जेरियाले प्रतियोगितामा आफ्नो पहिलो ३ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। हाल समूह ‘जे’ मा ३ अंकसहित अल्जेरिया तेस्रो स्थानमा छ भने समान ३ अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।

यसै समूहबाट साविक विजेता अर्जेन्टिनाले आफ्ना दुवै खेलमा जित निकाल्दै ६ अंकसहित शीर्ष स्थान ओगटेर समूह विजेताका रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

इतिहासमा पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन भने आफ्ना खेलहरूमा अंक जोड्न असफल रहँदै तालिकाको पुछारमा रहेर बाहिरिनु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *