अघिअघि मेस्सी, पछिपछि एम्बाप्पे: विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक ‘गोल रेस’

डिसी नेपाल
९ असार २०८३ ११:३४

काठमाडौँ । विश्व फुटबलकै सबैभन्दा ठुलो महाकुम्भ २०२६ फिफा विश्वकप अहिले उत्तर अमेरिकामा गतिशिल छ। ४८ टोलीहरूको सहभागितामा भइरहेको यो ऐतिहासिक प्रतियोगिता केवल देशहरूबीचको ट्रफीको लडाईँ मात्र बनेको छैन, बरु यो दुई फरक पुस्ताका महान् खेलाडीहरूबीचको सर्वकालीन रेकर्ड तोड्ने तीव्र प्रतिस्पर्धाको युद्धमैदान पनि बनेको छ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेबीच अहिले ‘अघिअघि मेस्सी, पछिपछि एम्बाप्पे’ को शैलीमा विश्वकप इतिहासकै सबैभन्दा रोमान्चक गोल रेस चलिरहेको छ। खेल तालिका र समयको संयोग पनि यस्तो परेको छ कि मेस्सीले रेकर्डको नयाँ पाना कोर्न नपाउँदै केही घण्टामै एम्बाप्पेले त्यसलाई पछ्याउँदै जवाफ फर्काइहाल्छन्।

यो अद्भुत रेसको पहिलो अध्याय समूह चरणको सुरुवातमा नै देखिएको थियो। ३८ वर्षका लियोनेल मेस्सीले आफ्नो विश्वकप करियरको १६औँ गोल गर्दै जर्मनीका दिग्गज स्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन रेकर्ड बराबरी गरेका थिए।

तर, मेस्सीले इतिहास रचेकै दिन फ्रान्सका २७ वर्षे एम्बाप्पेले सेनेगल विरुद्ध २ गोल गर्दै आफ्नो व्यक्तिगत १४औँ विश्वकप गोल पूरा गरेर ब्राजिलका महान् खेलाडी पेलेको रेकर्ड (१२ गोल) लाई सहजै पछि पारिदिए। मेस्सीले रेकर्डको ढोका खोल्ने बित्तिकै एम्बाप्पे उनको पदचाप पछ्याउँदै निकै नजिक पुगिसकेका थिए, जसले यो विश्वकपको आगामी यात्रा कति चुनौतीपूर्ण छ भन्ने संकेत गरिसकेको थियो।

यो रोमाञ्चक प्रतिष्पर्धाले आज झन् नयाँ उचाइ लियो जब मेस्सी र एम्बाप्पेका खेलहरू केही घण्टाको अन्तरालमा परे। आजको पहिलो खेलमा मेस्सीले अस्ट्रियाविरुद्ध मैदान उत्रिँदै सनसनीपूर्ण २ गोल गरे र आफ्नो कुल विश्वकप गोल संख्या १८ पुर्‍याएर इतिहासकै सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडीको रूपमा पहिलो स्थान कब्जा गरे।

तर मेस्सीको यो कीर्तिमानको खुसीयाली संसारभरका फुटबल फ्यानले मनाइरहँदा, त्यसको केही घण्टामै फ्रान्स र इराकबीचको खेल सुरु भयो। इराकविरुद्धको खेलमा एम्बाप्पेले पनि ब्याक-टु-ब्याक २ गोल थपिदिए। फलस्वरूप, उनी कुल १६ गोल पुर्‍याउँदै मेस्सीले भर्खरै छोडेको र मिरोस्लाभ क्लोजको नाममा रहेको दोस्रो स्थानमा आइपुगे।

अहिलेको ताजा तथ्याङ्क अनुसार मेस्सी २८ खेलमा १८ गोलसहित विश्वकपको सर्वकालीन शीर्ष स्थानमा छन् भने एम्बाप्पे मात्र १६ खेलमा १६ गोलसहित दोस्रो स्थानमा क्लोजसँगै उभिएका छन्। मेस्सी आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका छन् र इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले सधैँका लागि दर्ता गराउन चाहन्छन्।

अर्कोतर्फ, एम्बाप्पेको औसत प्रतिखेल १ गोलको रहेको छ, जुन आधुनिक फुटबलमा अकल्पनीय मानिन्छ। अर्जेन्टिना र फ्रान्स दुवै टोली नकआउट चरणमा पुगिसकेका हुनाले अब आउने खेलहरूमा यो दूरी झन् घट्ने वा बढ्ने कुराले संसारभरका फुटबल प्रेमीहरूलाई उत्साहित बनाएको छ। मेस्सीले अगाडि बाटो खन्दै नयाँ इतिहास बनाउँदै गर्दा एम्बाप्पे ठिक त्यही गोरेटोमा अनौठो गतिमा कुदिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *