अध्यक्ष प्रचण्डले भने- ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुन्छ, ढुक्क हुुनुहोस्
फाइल फोटो
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधीन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन्।
अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी गरे।
‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म संचारकर्मी साथीहरुलाई दिलाउन चाहान्छु ।’ अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि पटकपटक दोहोर्याए।
अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पारे।
पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि अध्यक्ष दाहालको भनाई थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment