बाँदरबाट बाली जोगाउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा ४५ लाख बजेट विनियोजन

डिसी नेपाल
१० असार २०८३ १०:३६

खोटाङ । किसानले मिहिनेत गरेर उब्जाएको अन्नबाली भित्र्याउने बेलामा बाँदरले खाएर हैरानी पारेपछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि विशेष बजेटको व्यवस्था गरेको छ।

नगरपालिकाको १५ औँ नगर सभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गर्दै यसका लागि बजेट विनियोजन गरिएको हो।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ४५ लाख रुपैयाँ छुट्ट्याइएको नगर उपप्रमुख बिसन राईले जानकारी दिए।

नगरपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

किसानहरूले दुःख गरेर लगाएको अन्न बाली सुरक्षित तरिकाले भित्र्याउन पाउन भन्ने उद्देश्यले नै यो नौलो प्रक्रियाको थालनी गरिएको नगर उपप्रमुख राईले बताए।

किसानको महिनौँको मिहिनेत बाँदरले एकैछिनमा सखाप पारिदिने गरेकाले उत्पन्न समस्या समाधान गर्न र किसानलाई मर्का पर्न नदिन नगरपालिकाले बाली हेरालु राख्ने नीति ल्याएको उनको भनाइ छ।

अब यस व्यवस्थाबाट किसानहरूले आफ्नो पसिना बगाएको बाली सुरक्षित रूपमा घर भित्र्याउन पाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *