उपत्यकामा बर्ड फ्लुको तीव्र जोखिम: ६ लाखभन्दा बढी कुखुरा नष्ट, अर्बौंको आर्थिक क्षति

डिसी नेपाल
११ असार २०८३ १२:४८

काठमाडाैं। नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ। पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म देशभरका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला संक्रमणको उच्च जोखिममा रहेका छन्। देशभरका प्रयोगशालाहरू मार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण देखिएको छैन। त्यसैले विभागले अहिले आफ्नो सम्पूर्ण ध्यान उपत्यकाभित्रकै संक्रमणलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन केन्द्रित गरेको छ।

हालसम्म देशभरका साना-ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु प्रमाणित भइसकेको छ। पछिल्लो पटक थप पाँच स्थानका नमुनामा समेत संक्रमण पुष्टि भएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणको कार्य अघि बढाइएको छ।

यस संक्रमणको सुरुवात गत चैत महिनाको अन्त्यतिर कागमा देखिएको थियो। त्यसपछि जेठको दोस्रो सातादेखि काठमाडौंको चन्द्रागिरि, कीर्तिपुर, टोखा र तारकेश्वर लगायतका क्षेत्रमा रोग फैलिन थालेको हो। संक्रमित कागकै माध्यमबाट अन्य पन्छीमा रोग सरेको विभागको निष्कर्ष छ।

हाल ललितपुरको गोदावरी, भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका साथै सदर चिडियाखानामा समेत संक्रमित काग भेटिएकाले वन्यजन्तु तथा जंगली चराहरूमा पनि संक्रमण फैलिएको संकेत मिलेको छ।

चिडियाखानाका रैथाने चराचुरुङ्गी र अन्य जनावरमा ‘एच-नाइन’  प्रकारको एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसले आफ्नो स्वरूप परिवर्तन (म्युटेसन) गरेको हो कि भन्ने आशंकामा जीनोमिक सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ। यसका लागि बर्ड फ्लु समन्वय समिति, जनस्वास्थ्य क्षेत्र, वातावरणविद् तथा सरोकारवालाहरूसँग आवश्यक छलफल भइरहेको छ।

बर्ड फ्लु अत्यन्त संक्रामक र घातक भाइरस भएकाले यसले ठूलो संख्यामा पन्छीहरू मार्नुका साथै मानिसमा समेत सर्न सक्ने जोखिम रहन्छ। यस रोगको हालसम्म कुनै निश्चित उपचार र प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण देखिएको स्थानका पन्छी र संक्रमणका सबै स्रोतहरू नष्ट गर्ने ‘स्टाम्पिङ आउट’ विधि नै नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

नेपालमा हालसम्म मानवमा संक्रमणको एउटा मात्र पुरानो घटना रेकर्ड भएको र वर्तमान समयमा मानिसमा यसको संक्रमण पुष्टि नभएकाले सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन।

संक्रमण नियन्त्रणकै क्रममा हालसम्म झन्डै ६ लाखभन्दा बढी कुखुरा, साढे ५० लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना नष्ट गरिसकिएको छ । यसबाट किसानहरूको ६० करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको छ।

कुखुरा नष्ट गरिएको फार्ममा कम्तीमा ४२ दिन अर्थात् डेढ महिनासम्म नयाँ चल्ला राख्न नमिल्ने भएकाले, उत्पादन बन्द हुँदा र फार्म खाली राख्नुपर्दा देशलाई अर्बौँ रुपैयाँको अप्रत्यक्ष आर्थिक क्षति पुगेको छ ।

यस्तो संकटको घडीमा प्रभावित किसानलाई राहत दिन सरकारले ‘बर्ड फ्लु रोग नियन्त्रण नियमावली-२०७८’ अनुसार लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

जिल्लास्तरमा गठन हुने दररेट निर्धारण समितिले तय गरेको लागत मूल्य र नष्ट गरिएका सामग्रीको प्रमाणका आधारमा किसानको बैंक खातामै सिधै रकम पठाइनेछ, जसका लागि हाल पहिलो चरणमा प्रभावित किसानहरूको विवरण संकलन गर्ने काम भइरहेको छ।

महानिर्देशक डा. दाहालले किसानहरूलाई आफ्नो फार्ममा कुनै पनि किसिमको संक्रमण शंकास्पद लागेमा तुरुन्त सरकारी निकायमा सूचना दिन आग्रह गरेका छन्। साथै बर्ड फ्लु बाहेकका अन्य रोगहरू जस्तै रानीखेत, गम्बोरो र ई-कोलाई विरुद्धका खोप तथा उपचार बजारमा उपलब्ध भएकाले किसानले फार्ममा नियमित जैविक सुरक्षा (बायो-सेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ।

किसानहरूलाई आफ्नो व्यवसाय सुरक्षित राख्न पशुपन्छी बीमा गर्न समेत विभागले सुझाव दिएको छ, जसमा बीमा प्रिमियमको ८० प्रतिशत रकम सरकारले अनुदान दिने र किसानले मात्र २० प्रतिशत मात्र तिरे पुग्ने सुविधा छ । उपभोक्ताहरूको हकमा भने हाल बजारमा उपलब्ध मासु तथा अण्डाहरू सुरक्षित रहेका छन् ।

बर्ड फ्लुको भाइरस तापक्रमप्रति संवेदनशील हुने भएकाले उपभोक्ताहरूले सम्पूर्ण प्रकारका पशुपन्छीको मासु र अण्डा राम्ररी पकाएर मात्र उपभोग गरेमा संक्रमणको कुनै खतरा रहँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *