रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यको मतदान सम्पन्न, पदाधिकारी चयनको प्रक्रिया सुरु हुँदै

डिसी नेपाल
११ असार २०८३ १३:०९

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शिनी केन्द्रमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ।

पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै केन्द्रीय सदस्य पदका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको हो। विवाद र प्राविधिक तयारीका कारण केही समय ढिलाइ भए पनि बुधबार मध्यराति १२ बजेदेखि मतदान सुरु भएको थियो।

महाधिवेशनमा कुल ९९ जना केन्द्रीय सदस्य पदका लागि ३ सय ७९ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। सभापतिमा लामिछाने निर्विरोध, डिजिटल प्रविधिबाट मतदानरास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था छ।

सोही बमोजिम सभापति पदमा वर्तमान सभापति रवि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीले आफूलाई डिजिटल र आधुनिक दाबी गरे अनुरूप महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन (विद्युतीय उपकरण) को प्रयोग गरिएको थियो।

यस्तै, महाधिवेशन स्थलमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवास (विदेश) मा रहेका प्रतिनिधिहरूका लागि रास्वपाकै आधिकारिक मोबाइल एपमार्फत मतदान गर्ने विशेष व्यवस्था मिलाइएको थियो।

महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू घर फर्किँदै, व्यवस्थापनमा सकसअसार ७ गतेदेखि सुरु भएको महाधिवेशन प्रतिनिधिको विवाद र बन्दसत्र सुरु हुन समय लागेका कारण पूर्वनिर्धारित कार्यतालिका भन्दा दुई दिन लम्बिएको छ।

देशभरबाट करिब ४ हजार १ सय प्रतिनिधिहरू सहभागी भएको यस महाधिवेशनमा लामो समय लाइन बस्नुपर्ने र कार्यतालिका लम्बिएका कारण धेरैजसो प्रतिनिधिहरू केन्द्रीय सदस्यका लागि मतदान गरेलगत्तै धमाधम घर फर्किन थालेका छन्।

केन्द्रीय सदस्यको मतदान सकिए लगत्तै अब दोस्रो चरणमा १९ जना पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको केही घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *