पारदर्शिताका लागि राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै
Britain's King Charles III salutes the troops outside Buckingham Palace during Trooping The Colour, the King's annual birthday parade, in London, Saturday, June 13, 2026. (AP Photo/Kirsty Wigglesworth)
लन्डन। बेलायती राजतन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।
यस कदमसँगै उहाँ व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ। बकिङ्घम दरबारले करदाताहरूको रकमबाट सञ्चालित राजतन्त्रका गतिविधिहरूको विवरण समेटिएको सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यो वित्तीय विवरण पनि बाहिर ल्याउन लागेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजा चार्ल्सले यसअघि वेल्सका राजकुमार रहँदा पनि आफ्नो कर विवरण सार्वजनिक गर्ने गर्नुभएको भए तापनि सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासन सम्हालेयता राजाको हैसियतमा पहिलो पटक यस्तो विवरण सार्वजनिक गर्न लागेका हुन्। उनीसँगै वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अनुमान गरिएको छ।
पछिल्लो समय राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन-विन्डसर सार्वजनिक पदको दुरुपयोगसम्बन्धी विवाद र अनुसन्धानमा परेर शाही सम्पत्तिबाट बाहिरिन बाध्य भएपछि बेलायतमा राजतन्त्रको आर्थिक गतिविधिमाथि थप पारदर्शिताको माग बढ्दै गएको थियो।
दरबार निकट स्रोतका अनुसार राजा चार्ल्सले आधुनिक लोकतन्त्रमा राजतन्त्रको भूमिकामाथि उठिरहेका प्रश्नका बीच राजसंस्थालाई सानो, कम खर्चिलो र उत्तरदायी बनाउँदै जनविश्वास बलियो पार्ने उद्देश्यले यो स्वेच्छिक निर्णय गर्नुभएको हो। बेलायतका धनी व्यक्तिहरूको सूचीमा शीर्ष २५० भित्र पर्ने राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान छ।
कानूनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उनले स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट जस्ता निजी सम्पत्ति, बचत तथा लगानीबाट हुने आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन्।
यसअघि सन् १९९३ मा विन्डसर क्यासलमा लागेको आगलागीपछि सार्वजनिक दबाब बढेपछि रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक कर तिर्न सुरु गरेका थिए। राजाले सार्वजनिक गर्ने विवरण मुख्यतः पर्यटन, कृषि र निजी लगानीबाट हुने व्यक्तिगत आम्दानीसँग सम्बन्धित हुनेछ भने आधिकारिक जिम्मेवारी पूरा गर्न प्रयोग हुने सार्वभौम अनुदानमा भने कर लाग्ने छैन।
यसै गरी राजकुमार विलियमको मुख्य निजी आम्दानीको स्रोत डची अफ कर्नवाल एस्टेट रहेको छ, जसले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा कमाएको थियो। राजा चार्ल्सको यस ऐतिहासिक निर्णयलाई बेलायती राजतन्त्रलाई समयसापेक्ष, पारदर्शी र आधुनिक बनाउने महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।






डिसी नेपाल





Facebook Comment