इरानमा १७५ विद्यार्थी बालिकाको हत्याको जिम्मेवारीबाट अमेरिका पन्छियो

डिसी नेपाल
११ असार २०८३ १५:३१

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको मिनाबस्थित गर्ल्स स्कूल (बालिका विद्यालय) मा भएको आक्रमणमा अमेरिकी मिसाइल प्रयोग भएको कुरालाई अस्वीकार गरेका छन्। उनले त्यस समयमा चारैतिर मिसाइलहरू प्रहार भइरहेकाले यस आक्रमणका लागि वास्तवमा को जिम्मेवार थियो भन्ने कुरा सायद कहिल्यै थाहा हुन नसक्ने बताए।

राष्ट्रपति ट्रम्पले भने, “कसैले यो हाम्रो मिसाइल थियो भनेर भने, तर यो हाम्रो मिसाइल नहुन पनि सक्छ। मैले यस्तो कुनै प्रमाण देखेको छैन, जसबाट यो आक्रमण हामीले नै गरेका हौँ भन्ने लागोस्।”

यद्यपि, १० दिन पहिले मात्र ट्रम्पले यस घटनालाई एउटा गल्तीको रूपमा व्याख्या गरेका थिए र विद्यालयलाई जानाजानी निशाना नबनाइएको बताएका थिए। गत मार्च महिनामा सार्वजनिक भएका प्रतिवेदनहरूमा सेनाको प्रारम्भिक अनुसन्धानले उक्त आक्रमणको पछाडि अमेरिकी सेनाको भूमिका हुन सक्ने आशंका व्यक्त गरेको दाबी गरिएको थियो। तर, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले हालसम्म यस बारेमा कुनै आधिकारिक पुष्टि गरेको छैन र अनुसन्धान अझै जारी रहेको छ।

ईरानका अनुसार, गत फेब्रुअरी २८ मा मिनाबको गर्ल्स स्कूलमा भएको आक्रमणमा परी १७५ जनाभन्दा बढी बालबालिका र शिक्षकहरूको मृत्यु भएको थियो। संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयले यस आक्रमणलाई अत्यन्तै भयावह भन्दै भर्त्सना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *