पाकिस्तानी सेना प्रमुखविरुद्ध मोसादको षड्यन्त्र, जेनेभा वार्ताका क्रममा हत्याको प्रयास

डिसी नेपाल
११ असार २०८३ १५:५७

इस्लामावाद। इजरायलको खुफिया एजेन्सी मोसादले स्विट्जरल्याण्डमा ईरान शान्ति वार्ताका क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनिर र उनको प्रतिनिधिमण्डलको हत्या गर्ने षड्यन्त्र रचेको दाबी गरिएको छ।

ब्राजिलका वरिष्ठ पत्रकार पेपे एस्कोबारले एउटा पोडकास्टमा यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन्। पत्रकार एस्कोबारको दाबी अनुसार पाकिस्तानी अधिकारीहरूलाई समयमै यसबारे जानकारी भएपछि उनीहरूले कडा चेतावनी दिएका थिए, जसका कारण इजरायलले आफ्नो योजना परिवर्तन गर्नुपरेको थियो।

यो दाबी त्यस समयको घटनासँग जोडिएको छ जब पाकिस्तान र कतारका प्रतिनिधिमण्डलहरू स्विट्जरल्याण्डको बर्गनस्टक रिसोर्टमा उपस्थित थिए। त्यहाँ ईरान र अमेरिकाबीच पश्चिम एसिया (मध्य पूर्व) को संघर्ष अन्त्य गर्नका लागि पहिलो चरणको वार्ता सम्पन्न भएको थियो।

राजनैतिक विश्लेषक मारियो नाफलको पोडकास्टमा कुरा गर्दै पत्रकार एस्कोबारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेशमा मोसादले आक्रमणको तयारी गरिरहेको अत्यन्तै विश्वसनीय जानकारी पाकिस्तानी सेनाले प्राप्त गरेको बताए।

एस्कोबारले दाबी गरे अनुसार अमेरिका र ईरानबीचको वार्तामा इजरायललाई समावेश नगरिएका कारण ऊ यो शान्ति प्रक्रियासँग खुसी थिएन। साथै, लेबनानमा इजरायलको सैन्य अभियानले शान्ति सम्झौताको बाटो अझ कठिन बनाएको उनको भनाइ थियो।

एस्कोबारले अगाडि भने, “यस षड्यन्त्रको जानकारी पाएपछि पाकिस्तानले ओमानको माध्यमबाट इजरायललाई एउटा कडा चेतावनी सन्देश पठाएको थियो। उक्त सन्देशमा पाकिस्तानको तर्फबाट यदि पाकिस्तानी प्रतिनिधिमण्डललाई केही भयो भने इजरायललाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिइएको थियो।”

यद्यपि, यो दाबी बाहिर आउनासाथ पाकिस्तान सरकार र सेनाका तर्फबाट यसलाई तत्काल खारेज गरिएको छ। उल्लेखनीय छ कि अमेरिकी उपराष्ट्रपति जेडी भान्स, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र आर्मी चिफ आसिम मुनिरले आइतबार स्विट्जरल्याण्डमा भएको उक्त वार्तामा भाग लिएका थिए।

पाकिस्तानी सञ्चारमाध्यम एआरवाई न्यूजका अध्यक्ष कामरान खानले एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै यो आरोप पूर्ण रूपमा बकवास र निरर्थक भएको बताएका छन्। ती अधिकारीले प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्सल आसिम मुनिरको सम्पूर्ण स्विट्जरल्याण्ड भ्रमण पूर्वनिर्धारित तालिका अनुसार नै कुनै बाधा र अवरोध बिना सम्पन्न भएको जानकारी दिए।

सुरक्षा अधिकारीका अनुसार भ्रमणका क्रममा कुनै पनि समयमा कुनै सुरक्षा अलर्ट जारी गरिएको थिएन। न त स्विट्जरल्याण्डका सुरक्षा एजेन्सीहरूले, न त अमेरिकी सुरक्षा टोलीहरूले नै कुनै सम्भावित खतराको बारेमा चिन्ता व्यक्त गरेका थिए।

उनले लुसर्नमा प्रधानमन्त्री र सेना प्रमुखको सुरक्षा व्यवस्था सधैँ सामान्य र पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पार्दै हत्याको षड्यन्त्र वा सुरक्षा खतराको कुनै पनि जानकारी प्राप्त नभएको र यो दाबी केवल एउटा ‘काल्पनिक कथा’ मात्र भएको बताए।

इजरायल र पाकिस्तान लामो समयदेखि एक-अर्कालाई विरोधी मान्दै आएका छन् र दुई देशबीच कुनै रणनीतिक साझेदारी छैन। पाकिस्तानले आजको दिनसम्म पनि इजरायललाई एउटा देशको रूपमा मान्यता दिएको छैन।

यसअघि, क्षेत्रीय युद्धविराम प्रयासहरूका बारेमा चर्चा गर्ने क्रममा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायलको कडा आलोचना गरेका थिए। उनले इजरायललाई ‘दुष्टता र मानवताका लागि अभिशाप’ भन्दै लेबनानमा नरसंहार मच्चाएको आरोप लगाएका थिए।

पाकिस्तान विश्वको एकमात्र परमाणु हतियार सम्पन्न इस्लामिक राष्ट्र हो भने इजरायललाई पनि परमाणु शक्ति सम्पन्न देश मानिन्छ। पाकिस्तानका रक्षा मन्त्रीको यस्तो बयानप्रति इजरायली अधिकारीहरूले तत्काल प्रतिक्रिया जनाएका थिए।

उनीहरूले ती आरोपहरूलाई खारेज गर्दै जब पाकिस्तान सरकारका वरिष्ठ मन्त्रीहरूले यस्तो बयान दिइरहेका छन्, तब के इस्लामावादले अमेरिका र ईरानबीच निष्पक्ष मध्यस्थकर्ताको भूमिका निभाउन सक्छ भन्दै प्रश्न उठाएका थिए। पाकिस्तानको डिजिटल न्यूज प्लेटफर्म ‘डी करेन्ट’ का अनुसार कयौँ वरिष्ठ पत्रकारहरूले पेपे एस्कोबारको यो कहानीलाई पूर्ण रूपमा निराधार र तथ्यहीन बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *