वैदेशिक रोजगारको प्रलोभनमा पारी २६ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका लागि पोल्याण्ड र क्यानडा पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुलेर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवत प्रसाद थारु रहेका छन्। उनले पोल्याण्ड पठाइदिने भन्दै पीडितबाट २३ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई असार १० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी काठमाडौं महानगरपालिका–२९ निवासी ३७ वर्षीय विकास दाहाल पनि पक्राउ परेका छन्। उनले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ३ लाख ९२ हजार रुपैयाँ असुलेको आरोप छ। उनलाई असार ११ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार दुवै जनाले आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाएर रकम उठाएका थिए। तर, सम्झौताअनुसार विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना बढ्दै गएपछि प्रहरीले विदेश जान इच्छुक व्यक्तिहरूलाई आधिकारिक म्यानपावर कम्पनी तथा सरकारी निकायमार्फत मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment