काठमाडौंमा मानसिक समस्या मौन महामारी बन्दै: टोलटोलमा महानगरको मनोसामाजिक स्वास्थ्य शिविर
काठमाडाैं। काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरी यो शिविर सञ्चालन गरेको हो। कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनका अनुसार जेठ ३० गतेदेखि असार ८ गतेसम्म सञ्चालित यस शिविरका क्रममा विभिन्न टोलका ९ वटा तोकिएका ठाउँहरूमा पुगेर परामर्श सेवा प्रदान गरिएको थियो।
स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, र न्हुःघ जोशी देगल मन्दिर परिसरमा आयोजित यी शिविरहरूमा मानिसहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शिविरमा १० वर्षका बालकदेखि लिएर ८४ वर्षका वृद्धसम्मले परामर्श सेवा लिएका थिए, जसमध्ये सबैभन्दा ठूलो संख्या १८ देखि ४५ वर्ष उमेर समूहका युवा तथा प्रौढहरूको थियो।
लैंगिकताका आधारमा हेर्दा ५५५ जना महिला, ४०५ जना पुरुष र ५५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले यस सेवाको लाभ उठाएका छन्। शिविरबाट प्राप्त तथ्यांक र स्थलगत अनुभवले काठमाडौं जस्तो सहरी क्षेत्रमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्या मात्र नरहेर एउटा भयावह ‘जनस्वास्थ्य संकट’का रूपमा विकसित हुँदै गएको गम्भीर संकेत गरेको छ।
महानगरपालिकाले समुदायस्तरको वास्तविक अवस्था अध्ययन गर्न र यस विषयमा रहेको सामाजिक भ्रम चिर्नका लागि यो पहल सुरु गरेको हो। संयोजक महर्जनले मानसिक स्वास्थ्य समस्यालाई मनभित्र वा घरभित्रै लुकाएर राख्न नहुने र शरीरमा लाग्ने अन्य रोग जस्तै यसको पनि खुलेर उपचार गराउनुपर्नेमा जोड दिएका छन्।
सहरका धेरैजसो मानिस कुनै न कुनै रूपमा मानसिक तनाव वा समस्यासँग जुधिरहेकाले यसको समाधानका लागि व्यक्ति स्वयं, परिवार, समाज र विशेषज्ञ स्वास्थ्यकर्मी सबैको तहबाट फरक-फरक किसिमको उपचार र सहयोग आवश्यक पर्ने उनको भनाइ छ।
सहरमा मानसिक स्वास्थ्यको यो बढ्दो जोखिमलाई समयमै कम गर्न अब विभिन्न अल्पकालीन र दीर्घकालीन रणनीतिहरू अपनाउनुपर्ने आवश्यकता देखिएको छ। यसका लागि विद्यालयहरूमा मानसिक स्वास्थ्य परामर्शदाताको स्थायी व्यवस्था गर्ने, अभिभावकहरूमा सचेतना जगाउने, युवा वर्गका लागि रोजगारीको सुनिश्चितता गर्ने र ज्येष्ठ नागरिकहरूलाई एक्लोपनबाट बचाउन सामाजिक सक्रियताका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
सम्बन्धित निकायहरूले बेलैमा यस्ता सुधारात्मक कदमहरू नचालेमा भविष्यमा सिङ्गो सहर नै मानसिक समस्याको गम्भीर महामारीको चपेटामा पर्न सक्ने चेतावनी समेत विज्ञहरूले दिएका छन्।






डिसी नेपाल





Facebook Comment