पोखरा भ्रमणका तितामिठा अनुभव (अन्तिम भाग)
दोस्रो दिन बिहान सबेरै उठेर कोठामा राखिएको विद्युतीय थर्मसमा पानी तताएर चिया पिउँदै लेखपढमा रमेँ भने आउँदो हप्ताको लेखका बारेमा सोच्ने काम पनि गरेँ। होटेलका कोठामा राखिने कप साना हुने भएकाले यात्रा गर्दा म आफ्नै अलि ठूलो मग लैजाने गर्दछु।
होटेलको झ्यालबाटै बिहानको शान्त फेवाताल देखिन्थ्यो। चिया पिउँदै केही बेर बरण्डाबाट देखिएको फेवाताल हेरेँ, अनि त्यतिले मात्र नपुगेर तालको किनारै किनार घुम्न निस्केँ। म जस्तै बिहानीको हिँडाइ (मर्निङ वाक) मा निस्केका पोखरावासी र धेरै पर्यटक तालको किनारै किनार हिँडिरहेका थिए।
स्वच्छ हावा, सफा र शान्त वातावरणले ज्यादै आनन्द महसुस भयो। काठका परम्परागत डुङ्गाबाहेक हिजोआज साना, ज्यादै हल्का, आकर्षक तथा आफैँले खियाउन मिल्ने चेप्टा डुङ्गा पनि फेवातालमा प्रशस्तै रहेछन्। तालको किनारामा बिहानैदेखि शौख र व्यावसायिक दुवै तवरले बल्छी थापेर माछा मार्न बसेकाहरू धेरै भेटिए।
उनीहरूको सीप देखेर बटुवा र पर्यटकहरू रमाइरहेका थिए। म जस्तै शान्तिको खोजीमा रहेका व्यस्त मनुवाहरू कुर्सीमा बसेर तालको शान्त पानी र मनमोहक दृश्य हेरेर आनन्द लिइरहेका थिए।
ताल बाराही जानका लागि डुङ्गा चढ्ने घाटमा व्यावसायिक फोटो खिच्ने, लामा-लामा लेन्स भएका क्यामेरा बोकेका युवाहरूलाई देखेर मैले पनि केही फोटो खिचिदिन अनुरोध गरेँ। प्रतिफोटो बीस रुपैयाँका दरले छ वटा निकै सुन्दर र स्पष्ट फोटो खिचेर उनीहरूले मेरो मोबाइल फोनमा सारिदिए।
प्रविधिको कमाल, मैले ती फोटो तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट पनि गरिहालेँ! कस्तो नशा लागेको सामाजिक सञ्जालमा रमाउने र अरूलाई आफ्ना गतिविधि देखाउने! साना नानीदेखि म जस्ता वृद्धोन्मुख ‘युवक’ लगायत वृद्धवृद्धा पनि मोबाइलमै झुन्डिएर समय कटाउने गरेका छन्। नयाँ युग हो, यसैसँग ढल्किनुबाहेक अर्को उपाय खोज्नु नै बेकार छ।
लेकसाइडको मूल सडकमा हिँड्दै हल्लन चोकमा आएर एउटा कफी पसलमा अमेरिकानो कफीको चुस्की लिन बसेँ। नेपालमा कफी संस्कृति निकै फस्टाएको छ। जताततै महँगा मेसिन राखेर कफी बनाउने व्यवस्था छ।
कफीका गेडा पनि नेपालमै उत्पादन हुन्छन्, त्यो पनि निकै उच्च कोटीको ‘अरेबिका’ जातको। दक्षिण एसियामै उच्च कोटीको अर्गानिक कफी पिउनका निम्ति नेपाल जत्तिको सुगम मुलुक कुनै छैन जस्तो लाग्छ।
हल्लनचोकमा बिहानैदेखि भारतीय पर्यटकहरूको भिडभाड थियो। अन्य मुलुकका पर्यटकको संख्या नगण्य थियो। कोही चिया पिउन निस्केका, कोही पोखराबाट बिदा हुने तरखरमा आफू जाने बसको प्रतीक्षामा बसेका, अनि कोही भने त्यहीँ कुनामा रहेको एसबीआई बैंकको एटीएम मेसिनबाट रकम निकाल्न लामबद्ध भएका देखिन्थे।
आफ्नो मुलुकको ठूलो बैंकको साझेदारी र उतैको जस्तै नाम भएको नेपाली बैंक भएर होला, उनीहरूलाई अरूभन्दा यो बैंकमाथि बढी विश्वास लाग्ने। हुन त लक्ष्मीको लोगो देखेरै पनि लक्ष्मी बैंक र पञ्जाब नेशनल बैंकको साझेदारीमा खुलेको एभरेष्ट बैंकमाथि पनि उनीहरूको माया देखिन्थ्यो, ती बैंकका शाखा बाहिर रकम निकाल्न गएको भिड देख्दा।
भारतीय पर्यटकको ठूलो संख्या देखेर मलाई कतै नैनीतालतिर पो छु कि जस्तो भान भयो। सबै भारतीय पर्यटकहरू एकै प्रकारका भने छैनन्। कोही निकै भलाद्मी र अनुशासित हुन्छन् भने कोही-कोही, खासगरी बिहार र यूपीबाट आएकाहरू भने बढी अराजक, अनुशासनहीन र हल्लाखोर स्वभावका देखिन्थे।
होटेलमा फर्केपछि केही बेर पुलमा पौडी खेलेँ। त्यहाँ पनि हिजो पिएको मदिराको ह्याङओभरले नछाडेको हो वा किन हो कुन्नि, एक जना अर्धबैँसे भारतीय पर्यटक हतारिँदै शरीरभरिको कपडासहित पोखरीमा हाम फाल्यो।
उसलाई पौडी खेल्न पनि खासै आउँदो रहेनछ। त्यहाँ खटिएका लाइफ गार्डले उचित पहिरनमा मात्र पोखरीमा जान अनुरोध गरे, तर उसले नसुनेझैँ गरिदियो। यो सब तमासाका बीच मैले होटेलको नास्ताको आनन्द पनि लिएँ।
नास्ता गर्ने ठाउँमा पनि कुर्सीहरू यताउता तान्दा निस्कने ज्यादै नमीठो आवाजले बेचैन पारिरहेको थियो। मानिसहरू प्लेटभरि खान सक्नेभन्दा बढी खाना थुपारिरहेका थिए भने केही कुरा नपुगेझैँ यताउता कुदिरहेका थिए।
यसपालिको यो यात्रामा कुनै प्रकारको पनि तनाव मनमा नलिने प्रण गरेको हुनाले जे-जे देखेँ वा भोगेँ, ती सबै कुरालाई सकारात्मक तवरले ग्रहण गरेर म आनन्दित नै भइरहेँ।
दिउँसो पोखरा महानगरपालिका, सभागृह तथा बैंकहरू रहेको मुख्य सडकमा अवस्थित ‘रिडर्स कर्नर’ नामक पुस्तक पसलमा गएँ। चियाकफी पिउँदै पुस्तक खरिद गर्ने तथा अध्ययन गर्ने बहुउद्देश्यले स्थापना भएको सो पसल हाल निकै खुम्चिन पुगेछ, सायद व्यापार राम्रो नभएर हो कि, पहिले जस्तो चहलपहल थिएन।
कफी पिउँदै यो हप्ताको लेख त्यहीँ बसेर ल्यापटपमा टाइप गर्दै करिब-करिब सकेँ। चार वटा पुस्तक पनि खरिद गर्न भ्याएँ। आफ्नो नयाँ कथासङ्ग्रह र पिताजीको अष्ट्रेलिया तथा युरोप यात्रा संस्मरणको केही प्रति त्यहाँ बिक्रीका निम्ति छोडिदिएँ।
पसल त्यति नचलेकाले पसले भाइले पहिले छोडेका पुस्तकको भुक्तानी समेत गर्न नसकेको कुरा निकै नम्रतापूर्वक बताए। मैले यो कुरालाई सहज रूपमा लिँदै ‘पछि हिसाब गरौँला’ भनेर मुस्कुराउँदै फर्किएँ।
यसरी इमानदारीपूर्वक आफ्नो व्यवसाय नचलेकाले व्यवहार मिलाउन नसकेको स्वीकार गर्ने मानिसहरूप्रति मेरो सहानुभूति नै रहन्छ। के भो र, कमसेकम त्यहाँ बेच्न छोडेका पुस्तक कसै न कसैले किनेर लगेर पढे नै होलान्।
तर अर्को ‘आशीर्वाद बुक्स’ भन्ने पसलका साहुले भने फोन पनि नउठाउने र पुराना हिसाबहरू वर्षौंदेखि नबुझाएको देख्दा नेपालमा अधिकांश पुस्तक पसलहरूमा प्रकाशक तथा लेखकलाई टिक्न नदिने रोग नै पलाएको रहेछ जस्तो लाग्यो।
तर पनि शान्त भएर मैले यो सब कुरालाई सकारात्मक तवरले नै लिएँ। पाठक नै कम भएर वा पसलको भाडा बढी भएर आम्दानीले जीवनयापन गर्न मुस्किल भएपछि मानिसमा यस्तो ठग मनोवृत्ति बढेको हुनुपर्छ। पछि यो समस्या पनि समाधान हुँदै जाला।
बेलुकीपख होटेलसँगैको लेकसाइडमा घुम्न निस्केँ। बालक र युवालाई मन पर्ने रोटेपिङ, रेल, झुला र अन्य धेरै प्रकारका मनोरञ्जनका साधनहरू राखेर एउटा रमाइलो स्थलको विकास गरिएको रहेछ। निकै भिड र रमणीय वातावरण थियो।
लेकसाइडमै सेकुवा, माछा, चाट, पानीपुरी, मकै, पान, चिया, आइसक्रिम आदिका स्टलहरू लागेका थिए र सबै स्टलमा ग्राहकहरू झुम्मिएका थिए। तर पोखरामा विद्युत् (बिजुली) ले भने लगातार आँखा झिम्काइरहँदो रहेछ।
होटेल परिसरमा गिटार बजाएर एक जना युवा गायकले मीठा-मीठा गीत गाइरहेका थिए र म लगायत केही भारतीय तथा विदेशी पर्यटक पनि त्यसमा झुमिरहेका थियौँ। यो पटकको पोखराको बिन्दास भ्रमण ज्यादै रमाइलो भयो।
राति लेकसाइडको रत्नमन्दिर दरबार परिसर नजिकै रहेको कवि भूपि शेरचनका छोरा समीरको थकाली खाना खाने रेस्टुरेन्टमा गयौँ। निकै स्वादिलो र ठेट थकाली खाना थियो। सबैले आनन्द मान्दै थपी-थपी खाए। अपच होला वा पेट दुख्ला भन्ने चिन्ता कसैलाई पनि थिएन।
खाना पचाउनका लागि हामीले केही बेर पैदल हिँड्न पनि छोडेनौँ। त्यही क्रममा नजिकै सार्वजनिक शौचालय हुँदाहुँदै सडकमै पिसाब गरिरहेका छिमेकी राष्ट्रका साथीहरूलाई देख्दा उदेक लागेर आयो।
उनीहरूको विशाल मुलुकले त्यत्रो आर्थिक विकास गरिसक्दा पनि जनता यस्ता ससाना कुरामा समेत किन सभ्य हुन नसकेका होलान्? लागेको बानीबाट छुटकारा पाउन निकै गाह्रो भएर हो वा यस्ता कुरामा दण्डहीनताले गर्दा सप्रने अवसर नै नमिलेको हो, बुझ्न सकिएन।
नेपालको हालको भ्रमण उनीहरूका निम्ति सरसफाइ र अनुशासन सिक्ने पाठशाला जस्तै पनि हुन सक्छ। कति कुरा नेपालीले भारतमा गएर सिक्छन् भने कतिपय कुरा भारतीयले पनि नेपाल आएर सिक्लान्। सिक्ने वा नसिक्ने कुरा आफ्नै चेतनामा भर पर्छ, यसमा कुनै लाज मान्नुपर्ने कुरै छैन।
सन् १८१६ को सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिस सेनामा औपचारिक र नियमित रूपमा भर्ती हुन थाले। सन् १९४७ पछि विभिन्न मुलुकमा गएर ब्रिटिस सेनामा काम गर्ने र बालबच्चालाई उतै पढाउने अवसर पाएकाले उनीहरूले सरसफाइ, रहनसहन, सामाजिक घुलमिल, इलम र व्यवसाय आदिका धेरै कुरा सिके र नेपाल फर्केर आफ्नो गाउँघर र समाजमा यसको प्रयोग बढाए।
नेपालीहरू लाखौँको संख्यामा विदेशमा काम गर्न जान थालेको पनि धेरै दशक भइसकेकाले उताका राम्रा आदत र कार्यशैलीहरू सिकेर यहाँको समाजमा त्यस्ता कुरा बाँड्न उनीहरू सफल भएका हुन्।
आज नेपालमा घरमा वा सार्वजनिक स्थलमा फोहोर गर्ने परिपाटीमा कमी आएको छ भने फेसनदेखि मानिसको जीवनका अन्य पक्षमा पनि निकै सकारात्मक परिवर्तन आउन थालेको छ। यदाकदा बाहिरका नराम्रा आदत पनि नभित्रिएका भने होइनन्।
भारतीय पर्यटकहरूका माथि उल्लेखित नराम्रा व्यवहारबाट हामी नेपालीले पनि धेरै कुरा सिक्नु जरुरी छ। जसरी भारतीयहरू आफ्ना विभिन्न नराम्रा बानीका कारण विश्वमा आलोचित छन्, हामी नेपालीका पनि कतिपय त्यस्ता नराम्रा बानीहरू हुन सक्छन्, जुन कुरा बुझेर हामीले पनि आफूमा बदलाव ल्याउनुपर्दछ।
मेरो करिब एक दशक अघिको हङकङ भ्रमणका क्रममा ‘जोर्डन’ भन्ने इलाकाको एक होटेलमा बस्दा राति धेरै पटक सडकमा प्रहरीको साइरन गुन्जियो र हल्ला तथा झैझगडा गर्नेहरूलाई पक्रेर लगियो।
भोलिपल्ट हङकङमा बस्ने मेरा नेपाली साथीहरूसँग कुरा गर्दा हाम्रै नेपाली भाइबहिनीहरू सप्ताहान्त (वीकेन्ड) मा अबेलासम्म मदिरा सेवन गरेर सडकमा झगडा र होहल्ला गर्ने गरेकाले त्यहाँको प्रहरीको नजरमा सिङ्गो नेपाली समुदाय नै बद्नाम छ भन्ने कुरा उनीहरूले बताए।
सन् १९८० र ९० को दशकमा ‘मा’ नाम गरेका एक प्रख्यात हङकङे चिनियाँ खुद्रा व्यापारीले हङकङबाट सामान ल्याएर नेपालमा बेच्ने उद्यमीहरूलाई उधारोमा सामान दिने गर्दथे। तर धेरै नेपाली व्यापारीहरूले उधारोमा लगेको सामानको रकम फिर्ता नगरेर ती चिनियाँ व्यापारी डुब्न पुगे।
पछि उनी काठमाडौँ आएर उधारो लिने व्यापारीलाई खोज्दै हिँडेको कुरा सुन्नमा आएको थियो। ठमेलको सडक छेउमा बसेर क्यालकुलेटरमा हिसाब गरिरहेको जस्तो अवस्थामा भेटिने ती व्यक्तिको हृदयविदारक दृश्य त्यतिबेला म लगायत धेरैले देखेका थियौँ।
यस्तै निम्न कोटीका क्रियाकलापका साथै चोरी, ठगी र तस्करीका धेरै घटनाले गर्दा चिनियाँहरूको नजरमा नेपाली बदनाम भए र हङकङ भ्रमणका निम्ति नेपालीलाई उपलब्ध भिसा अन एराइभल (भिसा नचाहिने प्रावधान) हटेको कुरा साथीहरूले बताए।
मलेसियाको राजधानी क्वालालम्पुरको ‘बुकित बिन्ताङ’ नेर घुम्दा थाहा भयो कि त्यहाँ प्रत्येक महिना आफ्नो घर नेपालमा पैसा (रेमिट्यान्स) पठाउन जाँदा केही रकम बचाएर नेपाली कामदारहरूमध्ये धेरैले बेहिसाब मदिरा सेवन गर्ने, यौनकोठीहरूमा जाने तथा सडकमै मात्तिएर लड्ने गर्दछन्।
यसो गर्दा गोजीमा भएको बाँकी पैसा र बहुमूल्य वस्तु समेत लुटिने गरेका घटनाहरू भइरहने कुरा सुन्नमा आएको थियो। साउदी अरब जस्तो धर्ममा कट्टर तथा मदिरामा निकै कडाइ गर्ने मुलुकमा समेत नेपालबाटै मर्चा लुकाएर लगेर भित्रभित्रै रक्सी बनाएर पिउने गर्नाले कतिपय नेपाली कामदारहरू थुनामा पर्ने तथा कैयौँको स्वास्थ्यमा निकै नकारात्मक असर परेर मृत्युसमेत हुने गरेको कुरा सुन्नमा आइरहन्छ।
खाडी मुलुकमा नेपालीहरू निकै मेहनती र इमानदार मानिए पनि उनीहरूको मदिरा सेवन गर्ने निकै नराम्रो आदत भएको कुरा त्यहाँका सुरक्षा निकायका अधिकारीहरूका भ्लगहरूबाट पनि थाहा पाउन सकिन्छ। खैर, यो एउटा तितो यथार्थ हो।
पोखरा भ्रमणको तेस्रो दिन पनि प्रातःकालीन हिँडाइ फेवातालको पामेतिरको क्षेत्रमा गरियो। केही वर्ष अघिसम्म खाली रहेको ठाउँ आज निकै गुल्जार भइसकेको रहेछ। फेवातालमा माटो बगेर सो इलाकाका कतिपय किनाराहरू पुरिएपछि त्यस्ता क्षेत्रको नाजायज अतिक्रमण गरेर घर बनाएको तथा व्यवसाय बसालेको देखिन्छ।
प्रशासनले यदाकदा डोजर लगाएर केही गरेजस्तो देखाए पनि अन्तिम जित भने भूमाफियाकै भइरहेको देखिन्छ। सरकारले निकै कडाइका साथ फेवातालको अतिक्रमण रोक्न र किनाराका वनजंगलको संरक्षण गर्न सक्नुपर्दछ।
नास्ता गरेर हामी पोखराबाट काठमाडौंका लागि निस्कनुअघि होटेलको लब्बीमा बिल भुक्तानी गर्न लाग्दा एउटा अचम्मको दृश्य देखियो। होटेलबाट फर्कन लागेका केही भारतीय यात्रुहरूले आफू बसेको कोठाको फ्रिज (मिनी बार) मा राखिएका पेय पदार्थ र चकलेट होटेललाई थाहा नदिई आफ्नो ब्यागमा लुकाएर लैजान लागेका रहेछन्।
होटेलका कर्मचारीले उनीहरूको ब्यागबाट ती सामान झिकेर जरिवाना तिराउन लागेको दृश्यले मन निकै खिन्न भयो। लाखौँ खर्च गरेर महँगो गाडीमा सवार भई यति महँगो होटेलमा बस्ने ग्राहकको यो कस्तो सम्मको तल्लो स्तरको कृत्य हो! यो एउटा नराम्रो बानी नै परेको हो वा बिदा मनाउने आर्थिक क्षमता घटेर खर्च बचाउन नाजायज चतुर्याइँ अपनाएको हो, त्यो बुझ्न गाह्रो छ।
राजमार्गमा पनि महँगा गाडी रोकेर खुल्लमखुल्ला शौच गर्ने, सडकमै खाना पकाएर फोहोर गर्ने तथा ससाना कुरामा झैझगडा र होहल्ला गर्ने बानीले गर्दा आज आर्थिक विकासमा ठूलो फड्को मारिसकेको विशाल राष्ट्र भारतको अन्तर्राष्ट्रिय छवि यस्ता साना कुराले बिगारेको देखिन्छ।
विश्वका अन्य धेरै मुलुकका पर्यटकहरूले पनि आफ्ना नराम्रा आदतका कारण बदनामी सहनुपरेपछि त्यहाँका सरकारले आफ्ना नागरिकहरूलाई सचेत गराउने गर्दछन्।
फलस्वरूप कतिपय नागरिकहरू सच्चिएका किस्साहरू पनि सुनिएकै हो। यसरी आफ्ना नराम्रा आदतलाई सुधार्दै असल छविको प्रदर्शन गर्ने बानी बसाल्न सकियो भने आफ्नो मात्र होइन, आफ्नो मातृभूमि र कर्मभूमिको नै इज्जत बढ्न जान्छ।
जे होस्, अनेकन् तितामीठा अनुभव बटुल्नुका साथै मनका बोझहरू पोखराकै तालमा छोडेर नयाँ ऊर्जाका साथ काठमाडौं फर्कने काम भयो।
– लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।












Facebook Comment