दुईजनाको जागिर परिवर्तनले हल्लियो विश्व सेयर बजार: ठूला कम्पनीका सेयरमा भारी गिरावट

डिसी नेपाल
१२ असार २०८३ १४:०५

काठमाडौं । विश्व एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा हालै एउटा यस्तो घटना घटेको छ, जसले इतिहासमै पहिलो पटक प्रविधि बजारलाई नराम्ररी झकझकाइदिएको छ। दुईजना प्रख्यात वैज्ञानिकहरूको एउटा निर्णयका कारण विश्वका ठूला टेक कम्पनीहरूको सेयर बजारमा भारी गिरावट आएको छ।

यस डलचलका कारण विश्वकै सबैभन्दा ठूला एआई कम्पनीहरू एनभिडिया, अमेजन र मेटाको सेयर मूल्यमा ठूलो धक्का लागेको छ। एकै दिनमा एनभिडियाले करिब २०० अर्ब डलर गुमाउनु परेको छ भने अमेजनको सेयर ५ प्रतिशत र मेटाको सेयर करिब २ प्रतिशतले तल झरेको छ।

यो हलचलको मुख्य कारण गुगलका दुई पूर्व प्रतिष्ठित वैज्ञानिकहरू नोम शजीर र जन जम्पर सँग जोडिएको छ। नोम शजीर तिनै वैज्ञानिक हुन् जसले सन् २०१७ मा गुगलमा छँदा ‘ट्रान्सफर्मर टेक्नोलोजी’ को अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निभाएका थिए, जुन आज च्याटजीपीटी, जेमिनी र क्लाउड जस्ता सबै आधुनिक एआई मोडलहरूको बलियो जग मानिन्छ।

दुई वर्षअघि मात्रै गुगलले नोम शजीरलाई पुनः आफ्नो कम्पनीमा फर्काउनका लागि करिब २.७ बिलियन डलर खर्च गरेको थियो। तर, हालै यी दुई चर्चित वैज्ञानिकहरूले गुगल छोडेर अर्को चर्चित एआई स्टार्टअप एन्थ्रोपिकमा जाने निर्णय गरेपछि बजारमा ठूलो हलचल पैदा भएको हो।

यी वैज्ञानिकहरूको बहिर्गमनको खबर सेयर बजारले राम्ररी बुझ्न नपाउँदै एन्थ्रोपिक कम्पनीले आफ्नो नयाँ एआई एजेन्ट ‘क्लाउड कोवर्क’ सार्वजनिक गरिदियो। यो सफ्टवेयरले कानुनी सम्झौताहरूको समीक्षा गर्ने, वित्तीय विवरणहरू तयार पार्ने र डाटा म्यानेजमेन्ट जस्ता कार्यहरू मानिस बिना नै स्वचालित रूपमा गर्न सक्ने क्षमता राख्दछ।

यस घोषणाले वाल स्ट्रिटदेखि विश्वभरका लगानीकर्ताहरूमा नयाँ त्रास पैदा गरिदियो। सफ्टवेयर कम्पनीहरू र आईटी सेवा प्रदायकहरूको भविष्य संकटमा पर्न सक्ने डरले लगानीकर्ताहरूले तीव्र रूपमा सेयर बिक्री गर्न थाले, जसलाई बजार विश्लेषकहरूले “सासपोक्यालिप्स” (सफ्टवेयर बजारको महाविनाश) को संज्ञा दिएका छन्।

यस घटनाले लगानीकर्ताहरूका सामु एउटा ठूलो र गम्भीर प्रश्न खडा गरिदिएको छ। माइक्रोसफ्ट, गुगल, मेटा, अमेजन र एप्पल जस्ता टेक जायन्टहरूले एआई मोडल विकास गर्न र लाखौँ एनभिडिया जीपीयू खरिद गर्न अर्बौँ डलर खर्च गरिरहेका छन्, तर त्यसको तुलनामा वास्तविक आम्दानी भने निकै न्यून देखिएको छ।

एक प्रतिवेदन अनुसार एआई हार्डवेयरको खर्च धान्न मात्रै उद्योगलाई वार्षिक ६०० अर्ब डलर आम्दानी आवश्यक पर्दछ, जबकि वर्तमान समयमा एआईको वास्तविक विश्वव्यापी आम्दानी मात्र १०० अर्ब डलरको हाराहारीमा छ। यो ५०० अर्ब डलरको विशाल अन्तर केवल कर्पोरेट ऋण र भेन्चर क्यापिटलको रकमबाट भरिँदै आएको छ, नाफाबाट होइन।

यो क्र्याशले एआई कम्पनीहरूबीचको भित्री लेनदेनको संयन्त्रलाई पनि उदाङ्गो पारेको विश्लेषकहरूले बताएका छन्। उदाहरणका लागि, एनभिडियाले ओपनएआईमा अर्बौँ डलर लगानी गर्दछ र ओपनएआईले सोही रकम प्रयोग गरी एनभिडियाबाटै एआई चिप्सहरू खरिद गर्दछ। एनभिडियाले त्यसलाई आफ्नो कमाइका रूपमा देखाएर आफ्नो भ्यालुएसन बढाउने गर्दछ।

कागजमा दुवै कम्पनी फस्टाएको देखिए पनि वास्तवमा एउटाले अर्कोलाई आफैँबाट सामान किन्नका लागि रकम दिइरहेको जस्तो देखिन्छ। यही कारणले गर्दा सन् २००८ को बजार मन्दीको सही भविष्यवाणी गर्ने प्रख्यात लगानीकर्ता माइकल बरीको फन्ड ‘सियोन एसेट म्यानेजमेन्ट’ ले हालै पालान्टिर र एनभिडिया विरुद्ध ठूलो रकमको शर्ट पोजिसन लिएको छ, जसको अर्थ उनी एआई बजार अझै ओरालो लाग्ने कुरामा विश्वस्त छन्।

सेयर बजारमा आएको यो ऐतिहासिक गिरावटले लगानीकर्ताहरूलाई पहिलो पटक एआईको संसार केवल प्रविधिको मात्र नभई उत्कृष्ट ट्यालेन्ट, पारस्परिक भरोसा र दिगो बिजनेस मोडलको लडाईं पनि हो भन्ने कुरा महसुस गराएको छ। दुईजना वैज्ञानिकको राजीनामा र एउटा नयाँ प्रविधिको घोषणाले विश्वका सबैभन्दा ठूला टेक कम्पनीहरूको जग हल्लाइदिएको छ।

विश्लेषकहरूका अनुसार एआईको यो दौड अझै सकिएको छैन र अबको वास्तविक प्रतिस्पर्धा केवल उत्कृष्ट मोडल बनाउनु मात्र नभई, दक्ष जनशक्तिलाई कम्पनीमा टिकाइराख्नु र यो प्रविधिलाई वास्तविक नाफामा बदल्नु नै हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *