खाडीको जीवनभन्दा गाउँ प्यारो
ढोरपाटन (बागलुङ)। हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ।
बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सकेनन्। अन्ततः गाउँ फर्किए। गाउँमा बाख्रापालन गर्न पत्नि कुश्माले सहयोग गर्न थालिन्। आम्दानीबाट केही अंश बचत भयो। परिवार खुसी भए। उनलाई पनि क्रमशः आफ्नै गाउँ प्यारो लाग्न थाल्यो।
खोरमा हुर्किंदै गरेका पाठापाठीमा आफ्नो र परिवारको भविष्य देखेका तेजबहादुरले परिवारलाई श्रमको महत्व र मेहनतको फलका सम्बन्धमा बुझाउन सकेका छन्। उनका सन्तति बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राकै स्याहारमा तल्लीन छन्। खोरमा रहेका दर्जनौँ बाख्राका लागि घाँसपानी जोहो गर्दागर्दै थकित हुन्छन्। लखतरान घर्ती भर्खरै जन्मिएर हुर्किंदै गरेका पाठीपाठी छेउमै बस्दा दुःख बिर्सन्छन्।
उनले गाउँमा आफ्नो भविष्य देखेका छन्। खेतबारी काल्नाखोल्सा तथा खेर गइरहेका सबै बाँझो जमिनमा घाँस रोपेका छन्। सानाठूला गरी ७० बाख्राका लागि घाँस खोज्न टाढा जानु पर्दैन। खोर आधुनिक ढङ्गले निर्माण गरेका छन्। त्रिचालिस वर्षीय घर्तीको जोशजाँगर देखेर स्थानीय पनि पशुपालनमा जुटेका छन्।
विदेशमा १८ घण्टा काम गर्दा पनि राम्रो कमाइ भएन। गाउँमा थोरै लगानी र कम मेहनतमा परिवारसँगै बसेर बाख्रापालन गर्न थालेपछि उनको जीवनमा परिवर्तन आयो।
उनले तीन वर्षअघि कृषि फार्म दर्ता गरे। व्यावसायिक रुपमा बाख्रापालन पेसा गर्नथालेपछि बैंकले कर्जा दिन थाल्यो। क्रमशः वित्तीय साक्षरताका बारेमा अनुभव पनि भयो। बचत पछि खर्च गर्ने बानीले उनीहरुलाई समृद्धिको बाटोमा डोर्याएको छ।
तेजबहादुरको खोरमा बाख्राको सङ्ख्या बढ्दै गएका छन्। अब, उनले मासुपसल खोल्ने सोच बनाएका छन्। सुरुमा घरकै आठ वटा बाख्राबाट सुरु गरेको उनको खोरमा अहिले १५० बाख्रा पुगेका छन्।
उनी भन्छन्, “धेरै वर्ष विदेशमा बिताइयो भने जस्तो कमाइ भएन, गाउँ आएर बाख्रापालन थालेको हुँ, राम्रो आम्दानी हुँदै गएको छ”, घर्तीले भन्नुभयो, “सुरुमा ठूलो लगानी गर्न सकिएन। घरमा पाल्दै आएका आठ वटा बाख्रालाई व्यवस्थित रुपमा पाल्ने योजना बनाएर सुरु गरेको हुँ, अहिले राम्रो छ।” घर्तीलाई उनकी श्रीमती कुश्माले साथ दिएकी छन्। रु एक लाख ५० हजारको लगानी बाट गरेको सुरु गरेको बाख्रपालनमा हालसम्म रु १५ लाख खर्च भइसकेको छ।
उनले बर्सेनी ६० वटा खसी बोका बिक्री गर्ने गरेका छन्। घर्ती दम्पतीले बाख्राको रेखदेख गर्न नभ्याएकाले गाउँका दुई जनालाई रोजगारी दिएका छन्।
तेजबहादुरले भने, “विदेशमा दुःख गरेर घर खर्च पठाउन मुस्किल हुन्थ्यो, कडा परिश्रम गर्दा बिरामी परिन्थ्यो, त्यतिबेला घरपरिवारको धेरै याद आउँथ्यो, अहिले परिवार सँगसँगै छौँ, सँगै दुःख गरेका छौँ, सञ्चो बिसञ्चो सबै थाहा हुन्छ, आफ्नो काम मन लाग्दा गरे भो, थकाइ लाग्दा आराम गरे हुन्छ, विदेशमा जस्तो हुँदैन, धेरै कमाउन नसके पनि परिवार धान्न सहज भएको छ।”
घर्ती दम्पतीको व्यवसाय प्रवद्र्धनका लागि बडिगाड गाउँपालिका, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेशन र हेफर प्रोजेक्ट नेपालले तालिम, आधुनिक खोर निर्माण र बीउ बाख्रा दिएर सहयोग गरेको छ।
घर्ती दम्पतीलाई बाख्रापालनले मिलन मात्र गराएको छैन, कुश्माका बारेमा कुरा काट्ने समाजको मुखमा बिर्कोसमेत लागेको कुश्मा घर्तीले बताइन्।
उनले भनिन्, “काम साना ठूलो हुँदैन, जसले जे जानेको छ, त्यही गर्नुपर्दो रहेछ, पहिले एक÷दुई वटा बाख्रा पाल्न पनि मुश्किल हुन्थ्यो, अहिले धेरै पाल्दा पनि सहज लागेको छ, खोरमा भएका बाख्रा हाम्रो सम्पत्ति हुन्, यिनीहरुको स्याहारसुसार राम्रो गरियो भने राम्रो आम्दानी हुन्छ, अब दुई÷चार पैसाका लागि अरुलाई गुहार्नु पर्दैन।”
प्रतिक्रिया












Facebook Comment