मनसुन थप प्रदेशमा विस्तार हुँदै: कोशीमा भारी वर्षा र लुम्बिनी-सुदूरपश्चिममा ‘लु’ को सम्भावना

डिसी नेपाल
१३ असार २०८३ ६:४७

काठमाडौं।  नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने बाँकी भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित मनसुन पुग्न बाँकी क्षेत्रहरूमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसुन पूर्ण रूपमा विस्तार हुने सम्भावना देखिएको छ। हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका अधिकांश हिमाली, पहाडी तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने पूर्वानुमान गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको आकलन गरिएको छ।

तराई क्षेत्रतर्फ कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका कतिपय क्षेत्रमा भने अझै तातो हावा (लु) चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभाग र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनसक्ने छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा रातिको समयमा भारी वर्षाको समेत सम्भावना रहेकाले त्यस क्षेत्रमा हुन सक्ने बाढी, पहिरो र गेग्रान बहाव जस्ता जोखिमबाट बच्न महाशाखाले सबैमा सचेत रहन विशेष अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *