जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम दिइने: रणनीति परिवर्तन गर्न अर्जेन्टिना तयार
काठमाडौं। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोली (स्टार्टिङ इलेभेन) मा नरहने पुष्टि गरेका छन्।
अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेस्सीले जारी प्रतियोगितामा अर्जेन्टिनाका लागि पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका थिए। ती दुई सुरुवाती जितसँगै अर्जेन्टिनाले यसअघि नै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक स्कालोनीले मेस्सीलाई कार्यभार व्यवस्थापनका लागि विश्राम दिन लागिएको बताउँदै आवश्यक परेको खण्डमा मात्र खेलको दोस्रो हाफमा मैदान प्रवेश गराइने जानकारी दिए।
उनले जोर्डनविरुद्ध मैदान उत्रने अन्य खेलाडीहरूले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउन योग्य रहेको उल्लेख गर्दै टोलीका सबै सदस्यले प्रशिक्षणमा उत्कृष्ट मेहनत गरिरहेको बताए।
पत्रकार सम्मेलनमा स्कालोनीले भनृ, “भोलि खेल्ने खेलाडीहरू मैदानमा उत्रिन योग्य छन्। उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन्। प्रशिक्षणमा उनीहरूले गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौँ। अवसर पाए म सबैलाई खेलाउन चाहन्छु।”
जोर्डनले प्रायः पाँच डिफेन्डरको रक्षात्मक रणनीति अपनाएर खेल्ने भएकाले अर्जेन्टिना पनि मैदानको परिस्थिति र आवश्यकता अनुसार आफ्नो रणनीतिमा परिवर्तन गर्न तयार रहेको उनले स्पष्ट पारे। अर्जेन्टिना र जोर्डनबीचको यो खेल शनिबार अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनको एटी एन्ड टी स्टेडियममा हुँदैछ।
अर्जेन्टिनाले यसअघि नै लगातार दुई जितका साथ समूहको शीर्ष स्थान सुरक्षित गरिसकेकाले यो खेलको नतिजाले समूहको समीकरणमा कुनै तात्विक असर पार्ने छैन। अर्कोतर्फ, विपक्षी टोली जोर्डन भने अस्ट्रिया र अल्जेरियासँग लगातार पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ।






डिसी नेपाल





Facebook Comment